Wednesday, April 09, 2014

लेबननमा ट्याक्सी चढ्न नजान्दा...

मध्यरातको १ बज्नै लाग्दा लेबनन बेरुतको हामरास्थित मे फ्लावर होटेलको गेटमा पुर्‍याएर ट्याक्सीले ३० अमेरिकी डलर अर्थात ४५ हजार लेबनानी पाउण्ड (झण्डै ३ हजार रुपैयाँ) मागेपछि झसंग भइयो ।

ट्याक्सीले ठग्यो कि क्या हो भनेर मनमा चिसो पस्यो । रफिक हरिरी अन्तर्राष्ट्रिय विमानस्थलबाट मुस्किलले २० मिनेटजति मात्र पार गरिएको थियो ।

३० डलर महँगो भएन र भनेर सोध्दा चालकले रातको समयको प्रचलित भाडादर भन्दा एक पैसा पनि बढी नलिएको जवाफ दियो । र बढी भाडा नलिएको प्रमाणस्वरुप आफ्नो नाम, ट्याक्सी र फोन नम्बरसहितको छाप र टिकट (हुलाक टिकट) टाँसेर हस्ताक्षर सहित बिल दियो ।

बिलमा टिकट टाँस्नुको मतलब त्यो बिल आधिकारिक र भरपर्दोको प्रमाण हो भन्ने मान्यता रहेछ लेबननमा । भोलिपल्ट विहान होटलले खोजिदिएको ट्याक्सी चढेर आधा घण्टाको बाटो तय गर्दा ३० हजार लेबनानी तिर्नुपरेपछि बोकेको पैसा जति सबै ट्याक्सी चढेर सकिन्छ कि क्या हो भनेर फेरि चस्का पस्यो ।
दिउँसो लेबनानी साथीहरुलाई ट्याक्सी कहानी सुनाएपछि अलि बढी नै लिएछ भन्दै अलि सस्तो ट्याक्सी कम्पनीको नम्बर दिए र त्यहि चढ्न सुझाए । नभन्दै विहान ३० हजार तिरेर हिँडेको बाटोमा १३ हजार मात्र तिर्नु पर्दा अलि राहत महसुस भयो ।

बेरुत उत्रिएको दोश्रो दिनमै हामीले त्यहाँ सार्वजनिक सवारीको गतिलो प्रबन्ध छैन र ट्याक्सी मिटरमा चल्दैनन् भन्ने थाहा पाइसकेका थियौं । र ट्याक्सी चढेर ओहोरदोहोर गर्दा मोटै रकम जाने भो भनेर मन अलि दरिलो बनाइसकेका थियौं ।

एकजना नेपाली साथीलाई भेट्न दौरा भन्ने ठाउँ जानुपर्ने भयो । ती साथीले हामी बसेको होटलमै कार्यरत एकजना नेपाली दाइलाई हामीलाई ट्याक्सी चढाई दिनु भनेका रहेछन् । १७ वर्षदेखि लेबननमा रहेका ती दाई हामीसँग दौरा जान तयार भए र हामी होटल भन्दा अलि परको सडकमा गएर ट्याक्सी कुर्न थाल्यौं ।
मिनेट मिनेटमा आउने ट्याक्सीसँग उनले अरबी भाषामा कुरा गरे । धेरै ट्याक्सी चालक मुख बिगार्दै, आँखा तर्दै, भुतभुताउँदै अगाडि बढे । केहीबेरमा त्यही अघि मुख बिगार्दै हिँड्ने मध्येको एउटा ट्याक्सी अगाडि रोकियो र हामीलाई ट्याक्सीमा चढ्ने ईशारा गर्यो ।

ती दाइले फेरि अरबी भाषामै कुरा गरे । सायद भाडाको कुरा थियो होला, मिलेछ क्यारे । दाई अगाडिको सिटमा बसे र हामी दुईजना पछाडि । हामराबाट दौरा जाँदा बाटोमा ठुलो ट्राफिक जाममा परियो । बाटोमा कार दुर्घटना भएको रहेछ । ट्याक्सीमा बसुन्जेल मलाई ट्याक्सीलाई कति भाडा तिर्नुपर्ने हो भन्ने मात्र लागिरह्यो ।
तर दौरा उत्रिएपछि भाडा तिर्न लाग्दा दाइले मानेनन्, आफैं तिरे । उनले कति तिरे सोध्न मन नि लागेन । तर हामीले यसअघि तिरेको भन्दा अलि कम हो कि जस्तो चाहिँ चालकको हाउभाउ तथा ट्याक्सी चढ्नु भन्दा अघि गरेको कुराकानीबाट बुझिन्थ्यो ।

५ दिनको छोटो बसाईमा हामीले जतिवटा ट्याक्सी चढ्यौ, धेरैमा खाइलाग्दो ज्यान भएका र उमेरले ४५ कटेका चालक थिए । बेरुतको सडकमा गुड्ने धेरै ट्याक्सी हुण्डाइ, किया, फोर्ड, भक्सवागन, मर्सिडिजका लक्जरियस सेडान कार थिए र सबैमा प्रष्टसँग देखिनेगरि मेटल प्लेटमा चालकको नाम र ट्याक्सी नम्बर अंग्रेजीमा लेखिएको थियो ।  

चुप लागेर बस्दा जतिखेर पनि रिसाएर बसेका जस्ता देखिने लेवनानी ट्याक्सी चालक गफ गर्न थालेपछि मज्जाले खुल्थे । अँग्रेजी बोल्ने चालकसँग हामी पनि चढ्ने बित्तिकै गफ गर्न थाल्ने भयौं ।

नाम र घर कता हो भन्दै कुराकानी सुरु गरेपछि सबैले सन् २००६ मा बेरुतमा इजरायलले गरेको युद्धको सम्झना गर्थे र मुख मलिन बनाउँथे । एकदिन चाहिँ एकजना २८ वर्षीय ट्याक्सी चालकसँग यात्रा गरियो । कुराकानीको सिलसिलामा उनले लेवननको यौन बजारको गफ समेत मिसाउन भ्याए ।

नेपाली महिला घरेलु श्रमिकहरुको संस्था नारी ग्रुपका साथीहरुसँगको अन्तक्र्रियापछि उहाँहरुसँगै हामी बेरुतको केहि ठाँउ घुम्यौं । त्योबेला बेरुतका ट्याक्सीको अर्को रमाइलो पक्ष थाहा पायौं ।

त्यो थियो सर्भिस र ट्याक्सी भन्दाको फरक । चढ्नु भन्दा पहिला ट्याक्सीलाई सर्भिस भनेर चढ्दा ठाउँ हेरेर प्रतिव्यक्ति २ हजारदेखि ४ हजारसम्म तिर्दा पुग्दो रहेछ र त्यसमा चालकले बाटोमा अरु यात्रु भेटेमा चढाउन पाउँदो रहेछ । हुँदैन भन्यो भने कम्तीमा पनि १५ हजार लिइछाड्ने तर बाटोमा अरुलाई चढाउन नपाउने । दुईदिन अगाडि यो रहस्य थाहा पाएको भए हाम्रो पनि ५/१० हजार लेवनानी पैसा बच्ने रहेछ भन्ने लाग्यो । अरु दिन ट्याक्सी भनेर १३ हजारदेखि ३० हजारसम्म तिरेको त्यहि बाटोमा अर्को दिन सर्भिस भनेर उही ट्याक्सी चढ्दा दुईजनाको ४ हजार मात्र तिरियो । अलि लामो दूरीमा चाहिँ सर्भिस भन्दा नजाने, तर ट्याक्सी भनेर चढेपनि बार्गेनिङ गरेर झण्डै आधा भाडामा ट्याक्सी चढ्न बानी पर्दै गर्दा हाम्रो घर फिर्ने दिन आईसकेको थियो ।  

हामी ट्याक्सी चढ्ने बित्तिकै चुरोट सल्काएर एकहातमा स्टेयरिंग र अर्को हातले चुरोट तान्दै गरेको अयुबलाई मैले उमेर सोधें । हेर्दै रिसाहा जस्तो देखिने उनी ५० वर्षका रहेछन् । बेरुत शहरमा २५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका उनले दिनमा दुई बट्टा चुरोट सक्छन् रे अर्थात ४० खिल्ली ।
अहिलेसम्म कतिवटा चुरोट खाइसक्नु भयो भनेर सोध्दा उनले सायद ‘करौडौं खिल्ली’ भन्दै मुश्किलले फिस्स हाँसे । बेरुतका ट्याक्सी चालकमध्ये धेरैजना स्टेरिङ समाउँदै चुरोटको धुवाँ उडाउँदै गर्छन् । उनीहरुलाई यात्रुले अप्ठेरो मान्छन कि भन्ने कुनै पर्वाह छैन । सोध्दा पनि सोध्दैनन् ।
आधा घण्टाको यात्रा गर्दा उनीहरुले सल्काउने २/३ वटा चुरोट हाम्रा लागि पनि सामान्य बन्दै गयो केही दिनमा । ट्याक्सी चालक मात्र होइन बेरुतमा गुड्ने अधिकांश सवारी साधनमा यात्रा गर्ने र सवारी चलाउनेको हातमा चुरोट देखिन्थ्यो ।

ट्याक्सी मात्र होइन, बेरुतका सडक पनि हाम्रा लागि नौला लागे । सडकको दुवैतिर बाक्लोसँग कार र ट्याक्सीहरु पार्क गरिने भित्री सडकहरुमा एकतर्फी मात्र गाडी गुड्छन् । साँघुरा सडकहरुमा गाडी गुडाउँदा वा मोड्दा दायाँबाँया पार्क गरिएको गाडीलाई छुने हो कि जस्तो लाग्छ । कतै उत्रनुपर्‍यो भने बीच सडकमै गाडी रोकिन्छ । उकालो, ओरालो होस् वा सम्म ठाउँ, दायाँबायाँ गाडी पार्क नगरिएका सडक भेट्न मुश्लिक पर्छ । नियम खुकुलो भएर होला सिट बेल्ट बाँध्ने, खुल्ला र चौडा सडकमा दायाँ बायाँ जताबाट भएपनि ओभरटेक गर्ने, चर्को हर्न बजाउने जस्ता कार्य बेरुतको सडकमा सामान्य जस्तै लाग्छ ।

सडकमा कतैपनि पैदल यात्रुलाई बाटो काट्नका लागि भनेर जेब्रा क्रसिङको संकेत राखिएको छैन । ओभरहेड ब्रिज त झन देखिदै देखिएन । मन लागेको ठाउँबाट बाटो काटे हुने रहेछ ।

निजी गाडीमा दुवैतिरको सिसा खोलेर ठूल्ठूलो स्वरमा बजाईएको गीत संगीत सडकमा हिँड्दा प्रशस्तै सुन्न पाईन्छ । गुडिरहेका गाडीबाट आउने त्यस्तो संगीतले बेरुतका सडक डिस्को जस्तै लाग्छन् । अझ म्युजिकको तालसँग यात्रुको म्युजिकल हाउभाउ नियाल्ने हो भने बेरुतको सडकमा पैदल यात्राले राम्रो मनोरञ्जन पनि दिन्छ ।

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates