Wednesday, May 29, 2013

नेपाली क्रिकेटको लोभलाग्दो उपलब्धि

कहि मध्यरात भएको छ, कहि दिउँसै छ ।

विश्व क्रिकेट लिग डिभिजन ३ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अमेरिका र आयोजक बर्मुडा खेल्दै छन । अमेरिकाले हार्दा नेपालको भाग्य खुल्नेवाला छ । बर्मुडाले कति ओभरभित्र अमेरिकालाई हरायो भने नेपाल अघि बढ्छ भनेर तयार पारेका समिकरण फेसबुक र ट्वीटरमा छ्याप्पछ्याप्ती शेयर भईरहेका छन् । नेपाली क्रिकेटलाई माया गर्नेहरु आँखा झिमिक्क नपारी कम्प्यूटर र मोवाईलको स्किनमा क्रिकइन्फो, फेसबकु, ट्वीटरलाई रिफ्रेस गर्दैछन् । केही सेकण्डमात्र स्कोर अपडेट नहुने बित्तिकै मुटुको धड्कन बढ्न थाल्छ, चिटचिट पसिना आउन थाल्छ अनि नङ टोकाईको गति बढ्न थाल्छ । २-४ बलमा रन नबन्ने बित्तिकै लौ खत्तम भयो, हार्ने भईयो भनेर आतित्दै लेखिएका फेसबुक स्टाटस र ट्वीटले टाईमलाईन भरिन्छ । अर्को २-४ बलमा चौंका छक्का हान्ने बित्तिकै खुशी भरिएका स्टाटस र ट्वीट टाईमलाईनभरी छरिन्छन् । 

अन्तत : अमेरिकालाई बर्मुडा हराउछ र नेपाल डिभिजन ३ को फाईनलमा पुग्दै डिभिजन २ मा बढुवा हुन्छ ।
नेपाली खेलकुदलाई माया गर्नेहरुले गए रातिका केही घण्टा यस्तै नाटकीय समयबाट गुज्रनु पर्‍यो । नेपालले इटालीलाई भारी अन्तरले जितेर मात्र पुगेन बर्मुडाको जितका लागि मठमन्दिर भाक्नेदेखि बर्मुडाका ब्याट्सम्यानले बनाउने एक एक रन खुशी हुनु पर्ने र ताली पिट्नुपर्ने अवस्था आयो । डिभिजन ३ सुरुका दुई खेल हारेपछि दवावमा आएको नेपाली टोलीको भाग्य निर्माता आयोजक बर्मुडा हुन पुग्यो । बर्मुडाको अमेरिका बिरुद्धको सनसनीपूर्ण जितले नेपाललाई डिभिजन २ मा मात्रै पुर्याएन आगामी २०१४ मा न्यूजिल्याण्डमा हुने ५० ओभरको विश्वकप छनौंट खेल्नका लागि ढोका पनि खोलेको छ । युगान्डासँग आइतवार राती हुने डिभिजन ३ को उपाधि भिडन्त त छँदै छ ।

पछिल्लो ९ महिना । चार ठूला प्रतियोगिता । दुईवटामा नेपाल च्याम्पियन । एउटामा उप बिजेता र एउटामा फाईनलिस्ट । छनौंट चरण पार गर्ने सके सन् २०१४ को बंगलादेशमा हुने T20 World Cup र सन् २०१५ मा अष्ट्रलिया र न्यूजिल्याण्डले संयुक्तरुपमा आयोजना गर्ने ५० ओभरको विश्वकप खेल्ने सुवर्ण मौंका । (Update, May 5, 2013, 3 pm: नेपाल युगान्डालाई हराउदै डिभिजन ३ च्याम्पियन पनि बनिसकेको छ )

सिमित श्रोत र साधन, आधारभूत पूर्वाधारको कमीबाट गुज्रिरहेको नेपाली टोलीले पछिल्लो ९ महिनामा गरेको यो उपलब्धि सानोतिनो पक्कै होईन । २०१२ को सेप्टेम्बरमा डिभिजन ४ च्याम्पियन हुँदै मलेशियाबाट शुरु भएको बिजयी यात्रा बर्मुडामा पनि रोकिएको छैन । डिभिजन चार लगत्तै ACC Elite Cup को उपाधि युएईसँग बाड्न सफल नेपालले गएको मार्च महिनामा घरेलु मैदानमा भएको ACC T20  मा उपबिजेता भएको थियो । डिभिजन ३ मा पनि च्याम्पिन हुदै इतिहास बनाउने सुवर्ण अवसर नेपाली टोलीसँग छ ।

माथि उल्लेखित पछिल्ला चार प्रतियोगिता मध्ये छिनोफानो भईसकेका तीनवटामा नेपाली खेलाडीको प्रदर्शन उच्च छ । तीनवटै प्रतियोगिताको उत्कृष्ट खेलाडी नेपाली नै छानिएका छन् । मलेशियाको डिभिजन ४ मा बसन्त रेग्मी, ACC Elite Cup ACC T20 Cup मा कप्तान पारस खड्का प्लेयर अफ म्याच चुनिएका थिए । बसन्त र पारसबाहेक टोलीका अन्य खेलाडीहरुले पनि हरेक खेलमा जुझारु खेल पस्किरहेका छन् । अझ पुवुद्धु दासानायकेले प्रशिक्षकको कमाण्ड सम्हालेपछि त नेपालका हरेक खेलाडीहरुको खेलमा निखारता आउँदै गएको छ ।

बिभिन्न प्रतियोगिताका दौरान नेपालले युएई, हङ्गकङ्ग, सिंगापुर, ओमान, डेनमार्क, तान्जानिया, अमेरिका, कुवेत, साउदी अरेबिया, मालदिभ्सलगायतलाई यो क्षेत्रमा आफु शक्तिशाली रहेको पटक पटक प्रमाणित गरिसकेको छ । उच्च लयमा रहेको यस्तै प्रदर्शनमा अलिकति थप मेहनत र परिश्रम लगाएर खेल्ने हो भने नेपालका लागि विश्वकप (T20, 2014 or 50 Over, 2015) को सपना टाढा छैन ।

नेपाली टोलीले पछिल्लो समयमा पाएको उपलब्धि कायम राख्न र आगामी दिनमा अझ राम्रो गर्न आधारभूत पूर्वाधारको विकास र खेलाडीहरुको बृत्ति विकास र सेवा सुविधामा सरोकारवाला निकायहरुले ध्यान दिनु र काम थाल्न ढिला भईसकेको छ । नेपाली टोलीले आगामी दिनमा गर्ने प्रदर्शन क्रिकेटलाई व्यवस्थित गर्ने सरोकारवाला निकायहरुको कार्यक्षमता, दीर्घकालिन योजना र संरचनात्मक सुधारहरु जस्ता कुराहरुमा निर्भर रहनेछ ।
उज्यालो अनलाईनमा May 5, 2013 प्रकाशित

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates