Thursday, November 08, 2012

रेडियो महात्म्य !

केहि महिना अघि मोवाइलको डिस्प्लेमा नो नम्बर देखिदै घण्टी बज्यो । विदेशबाट कसैले गरेको हुनुपर्छ भन्ने लाग्यो । नभन्दै इजरायलबाट एउटा पुरानो साथीको फोन रैछ । फोन नम्बर खोज्न दुःख भएको गुनासोसहित मेरो हालखबर सोध्यो र आफने पनि बतायो । क्याम्पस पढ्दाको हाम्रो चिनाजानी भएपनि उ लामो समयदेखि कामको सिलसिलामा विदेशमा छ र हाम्रो कुराकानी झण्डै १० बर्षपछि हुदै थियो । आराम कुशलको छोटो भलाकुसारी पछि उसले कुरा गर्न लागेको विषयको गुह्य खोल्यो । “साथीहरुले एउटा एफएममा लगानी गरौं भन्दैछन्, तपाई यहि क्षेत्रमा काम गर्ने भएकोले एकपल्ट सल्लाह गर्नुपर्यो भनेर फोन गेरको” उसले एकैलाइनमा आफ्ना कुरा राख्यो । उसलाई पूर्वाञ्चलको नाम चलेकै शहरमा नयाँ एफएममा झण्डै १०–११ लाख जति लगानी गर्नु पर्यो भनेर प्रस्ताव ग’को रैछ । नजिकको साथी भएकाले मैले एफएम सञ्चालन र यसबाट पाइने प्रतिफलको अहिलेको वास्तविकता ढाट्न सकिन । फूलबुट्टा नभरि मैले पनि एकै लाईनमा जवाफ फर्काए “विदेशमा पसिना बगाएर कमाको पैसा धेर भएको हो भने लगानी गर्नुस हैन भने १० लाख लगानीको प्रतिफल १० बर्षमा पनि पाउन मुश्किल छ” यसपछि रेडियो खोल्न के गर्नुपर्छ, कति लाग्छ, कमाइ कति हुन्छ एफएमसँग सम्वन्धित आर्थिक, प्राविधिक लगायतका कुरा बुझेपछि उ लगानी नगर्ने निर्णयमा पुग्यो । मैले कुराकानीको अन्त्यमा १–२ लाखसम्म हो भने फालिदिए हुन्छ, समाजमा मेरो पनि रेडियो छ नि भनेर गफ दिन पाईन्छ, नाफा भनेको त्यस्तै हो भनेपछि उसले त्यो पनि नगर्ने भन्दै फोन राख्यो ।
माथिका कुराकानी, हाल नेपालमा एफ.एम. सञ्चालन प्रति मध्यम बर्गिय नेपालीको चासो बढ्दै गएको एक गतिलो उदाहरण हो । तर यसो भन्दैमा रेडियोमा लगानी गरिहाल्न उचित छ त ?
पोखरामा पश्चिमाञ्चल क्षेत्रका रेडियाकर्मीहरुसँग भेटघाट हुदा रमाइलो तथ्यांक फेला पार्यो । पश्चिमाञ्चलको कुनै एक जिल्लामा सञ्चालित एउटा रेडियोले बार्षिक ८ हजारमा विज्ञापन प्रसारण गर्दो रहेछ । घटिमा एक मिनेट समयको सो विज्ञापन रेडियोले एक दिनमा कम्तिमा ५ देखि ८ पटक बजाउनु पर्ने शर्त विज्ञापनदाताको रैछ । दैनिक ६ पल्टलाई औषत मानेर हिसाब गर्दा सो विज्ञापन बर्षभरिमा १०६५ मिनेट अर्थात लगभग १८ घण्टा जति प्रसारण हुन्छ । प्रसारण समयले बर्षभरि पाइने रकमलाई भाग गर्दा प्रति मिनेट रु. ७ रुपियाँ पर्छ । अब रेडियोको एक मिनेट बराबरको समयको मूल्य तपाइ हामीले खाने एक कप चियाको मूल्य भन्दा सस्तो परेन त ?

पछिल्लो केहि बर्षयता हरेक बस्तु र सेवाको भाउ आकाशिएको छ । तर रेडियोको विज्ञापन तथा कार्यक्रम उत्पादन र प्रसारणको दररेट चाहि ठिक उल्टो गतिमा ठाडो ओरालो लागेको छ । रेडियोहरु कार्यक्रम उत्पादन तथा प्रसारणको गुणस्तरमा प्रतिस्पर्धा गर्न छोडेर कसले कम भन्दा कम दरमा विज्ञापन, कार्यक्रम प्रायोजक लिने भन्नेमा प्रतिस्पर्धा गर्छन् । आदर्शवान् कुरा गर्ने रेडियोहरु पनि पैसा पाएसी महादेवको तीन नेत्र भनेझै जतिसुकै कम किन नहोस् कार्यक्रम तथा विज्ञापन पाउन हारालुछ गर्छन् ।
पूर्वाञ्चलको कुनै जिल्लामा विगत एक बर्षदेखि रेडियो सञ्चालन गरिरहेका साथीहरु अघिल्लो साता काठमाडौं आएका थिए । रेडियो खोल्नु अघि भने उनीहरुले आफ्नो क्षेत्रको बजार सम्भाव्यता अध्ययन गर्न काठमाण्डौंबाटै अनुसन्धानकर्ता लगेका रैछन् । यो टोलीले महिनाको २ लाख सजिलै आम्दानी गर्न सक्ने गज्जवको रिर्पोट दिए । हो न हो ! दुई चार जना मिलेर पैसा जोरजाम पारे, रेडियो घन्काउन थालि हाले । तर रेडियो सञ्चालन भएको महिना, २ महिना, ६ महिना वित्यो २ लाख त के त्यसको एक चौथाई अर्थात महिनाको ५० हजारको पनि आम्दानी भएन । रेडियो चलाउन सहयोग गर्नु पर्यो भन्दै रेडियोसँग सम्वन्धित विभिन्न संस्थासँग हार गुहार गर्न उनीहरु यो खाल्डो छिरेका रैछन् ।

अब अर्को प्रसंग, गोकर्ण विष्ट उर्जा मन्त्री हुँदा विजुलीको बक्यौता महसुल नतिर्नेको लाईन काट्ने अभियान चलाए । यस अभियानले लामो समयदेखि बिजुलीको महसुल नतिर्ने केहि रेडियोका साहुहरुको ओठ तालु सुक्यो । केहिले खोजखाज गरेर गर्जो टारे । धन्न छोटो समयमै विष्ट मन्त्रीपदबाट विदा भए र रेडियोका विजुलीको लाईन काटिएको समाचार सुन्नु, पढ्नु परेन । अहिलेपनि लोडसेडिङको बेला धेरै ठाँउका रेडियोले प्रसारणै बन्द गर्छन् । इन्धन अभाव चर्किएका बेला त मै हुँ भन्ने रेडियोहरु पनि कुन बेला बन्द हुने हुन् ठेगान हुदैन ।
रेडियोलाई सञ्चालनको अनुमति पत्र दिने बाहेक रेडियोको विकासमा सिन्को नभाँच्ने सूचना तथा सञ्चार मन्त्रालय आर्थिक बर्ष कहिले सकिन्छ भन्ने ध्याउन्नमा माञ हुन्छ । रेडियोले अनुमति पत्रको नविकरण गर्दा बुझाउनु पर्ने दस्तुर र कुल कारोबार रकमको २ प्रतिशत रोयल्टी (दुईबर्षअघि यो दर ४ प्रतिशत थियो) लिएपछि मन्त्रालयले आफ्नो जिम्मेवारी पूरा भएको भन्ठान्छ । यो बाहेक आयकर, मूल्य अभिबृद्धि कर लगायत सरकारलाई तिर्नुपर्ने रकमको पाटो अर्कै छ । सरकारबाट निजी रेडियोलाई गत दुईबर्षदेखि बाँड्न थालेको बर्षको करिब ५० हजार जतिको लोककल्याणकारी विज्ञापन (यो पनि सबै रेडियोले पाउँदैनन्) बाहेक अन्य कुनै किसिमका आर्थिक, प्राविधिक र भौतिक सहयोग छैन ।
यी अप्ठेरासँगै रेडियोमा काम गर्ने कर्मचारी तथा पत्रकारले समयमै तलब नपाउने, कम तलब वा तलब नै नलिई स्वंयसेवा गर्नुपर्ने बाध्यता आदिबीच पनि देशमा रेडियो खुल्ने क्रम नरोकिएको देख्दा अचम्म लागेकोछ । सबै जिल्लामा रेडियो सञ्चालनका लागि अनुमति पत्र बाँडिएको छ र देशभरी अहिले झण्डै ४०० वटा रेडियोहरु नियमित प्रसारणमा छन ।
किन यति धेरै रेडियो ?
नेपालभरी अनुमति पाएका र नियमित प्रसारणमा रहेका रेडियोको संख्या आफैमा धेरै हो कि हैन बहसको बिषय हो । तर काठमाण्डौं उपत्यकामा ३५ र पोखरामा सञ्चालित २० भन्दा बढी रेडियोलाई आधार मान्ने हो भने यो संख्या साँच्चिकै धेरै भएको हो । अझ रेडियोको बजारलाई हेर्ने हो भने त यति धेरै रेडियोहरुलाई धान्न सक्ने श्रोतको अभाव टडकारै देखिन्छ । आर्थिक सम्भाव्यताको अध्ययन गरेर सञ्चालनमा आएका रेडियोहरु औलामा गन्न सकिने संख्यामा छन् । रेडियो सञ्चालन आवश्यक देखिएको ठाँउमा बाहेक नयाँ रेडियो थपिनुमा केहि कारण यस्ता पनि छन् :

  • रेडियोका सञ्चालक–सञ्चालक र सञ्चालक–कर्मचारीमा आर्थिक वा राजनीतिक स्वार्थ बाझिएपछि र आपसी मनमुटाव भएपछि फुट्ने र फुट्ने समूहले सकेसम्म सोहि ठाँउमा नभए अन्यत्र नयाँ रेडियो खोल्ने प्रवृति ।
  • कुनै राजनीतिक विचार धारामा विश्वास गर्ने व्यक्ति वा दलका नेताको लगानी भएको पाइए, फरक विचार धारा राख्ने अर्को व्यक्तिले सोहि ठाँउमा नयाँ रेडियो खोल्ने प्रवृत्ति । राजनीतिदलसँग प्रत्यक्ष सम्वन्ध राख्ने रेडियोहरु स्थापना हुनु ।
  • विस्तृत र गहन अध्ययन नगरि अन्य रेडियोहरुको देखासिकी गर्दै रेडियो खुल्ने क्रम बढ्नु ।
  • आफैले मिडिया सञ्चालन गरेपछि नराम्रा, काला कर्तुतलाई सजिलै ढाकछोप गर्न सकिन्छ र कालो धन चोख्याउन सकिन्छ भन्ने उद्देश्यले पनि रेडियोको संख्या बढेको छ ।
  • आजको भोलि नै नाफा कमाउनु पाइने मानसिकता सहित रेडियो क्षेत्र नबुझेकाहरुको लगानी बढ्नु ।
नेपालमा एफएम प्रसारण शुरु भएको १५ बर्ष पुग्दैछ । यो बीचमा कुनै पनि रेडियो आर्थिक कारणले बन्द भएको समाचार सुन्नु तथा पढ्नु परेको त छैन । केहि रेडियोहरुले आफ्नो खर्च धानेर राम्रै गरिरहेको देख्न सुन्नमा आएपनि धेरै रेडियोहरु चरम आर्थिक अभावबीच चलिरहेका छन् ।
यो ब्लग अप्रिल २०१२ मा लेखिएको हो र मेरो पुरानो ब्लगमा थियो । आज मिडिया सम्बन्धि बहसदेखेपछि सान्दर्भिक होला भन्ठानेर यहाँ रि-पोष्ट गरेको हु । 

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates