Wednesday, October 10, 2012

दुवई र ड्रेस

दोहाबाट दुवईका उडान समय १ घण्टा भनिए पनि हामी लगभग ४६ मिनेटमै दुवई ल्याण्ड भयौ । दोहा जादा दुवई एयरपोर्टमा पाएको सास्ती सम्झदा हामीलाई दुवई इमिग्रेसनले सजिलेसँग प्रवेश देला भन्ने लागेको थिएन । किन आको, कहाँ बस्ने, होटल बुकिंग छ कि छैन, पैसा छ कि छैन लगायत १२, २७ कुरा सोधेर झन्टट देलान भन्ने थियो तर त्यसको ठिक उल्टो एक शब्द पनि नबोलि पासपोर्टमा छाप हानिदए ।   

एयरपोर्टबाट होटलको दुरी ४, ५ कि.मी मात्र टाढा रैछ र हामी होटल पुग्दा दिनको साढे १२ जति बजेको थियो । हामीले दुवईको देरा भन्ने ठाँउमा होटल बुक गरेका थियौं । होटलमा भारी विसाएर वरिपरि नियाल्दा यस्तो लाग्थ्यो हामी काठमाण्डौं सुन्धाराको कुनै होटलमा छौं । अर्थात देरा हामीलाई हाम्रै सुन्धारा लाग्यो । साथीभाईहरुले कहाँ बस्नु भएको छ भनेर सोध्दा हाम्रो पहिलो जवाफ सुन्धारामा भन्ने हुन्थ्यो, त्यसपछि मात्र दैरा ।
७ वटा इमिरेट्सहरुको देश युएईमा भारतीय, पाकिस्तानी, फिलीपिनी लगायत नेपालीहरुको संख्या पनि उल्लेख्य छ । सातवटा मध्ये दुवई एक इमिरेट्स र धेरै नेपालीहरुको कर्मभूमि । अरु बेला फाट्ट फुट्ट मात्र भेटिने नेपालीहरु शुक्रबारे छुट्टीमा बरदुवईमा रहेको रमादा पार्क र क्यारीफोरका खुल्ला चौरमा टन्नै भेटिन्छन् । नेपाली चेलीहरु बिदाको दिन निर्धक्कसँग चौरमा गफिएका भेट्यौ, देख्यौं । कतारमा ७ दिन बिताउदा नेपाली चेली त के विदेशी महिला पनि कहिलेकाहि मात्र देखिन्थ्यो त्यो पनि कुनै सपिंग मल, होटल वा पर्यटकिय क्षेत्रमा मात्रै । तर दुवईको रमदामा त पुरष भन्दा महिलाको संख्या बढी थियो, त्यसमा पनि सबै नेपाली । गफ गर्दा भेटिएका अधिकांशले घर, परिवार सम्झदा दुःख लागेपनि काम र कमाईमा खासै गुनासो गरेनन् । अन्य समयमा सडक, वस, मेट्रोमा हिड्ने महिलाको संख्या पनि उल्लेख्य थियो ।

Nepali in Ramada Park
मेट्रोले गर्दा दुवईको एक कुनाबाट अर्को कुनामा पुग्न सहज छ । एउटै कार्डबाट मेट्रो र बसको भाडा तिर्न मिल्छ । मेट्रो सञ्चालनमा आउनुभन्दा अगाडिसम्म दुवईमा ट्याक्सी पाउनु चिठ्ठा पर्नु जस्तै हुन्थ्यो रे । मेट्रो र स्टेशनलाई व्यवस्थित बनाउन र त्यहाँ भएका उपकरण, सामग्रीको गलत प्रयोग गरेमा जरिवाना गरिने भनेर जरिवाना रकम सहित लेखिएका संकेतहरु प्रसस्त भेटिन्छन् । जस्तै मेट्रोभित्र र स्टेशनमा रहेको आपतकालिन समयमा प्रयोग गरिने अर्लाम सामान्य बेला कसैले बजायो भने २ हजार दिराम अथार्त झण्डै ५० हजार नेपाली रुपियाँ जरिवाना । हामी चाहि त्यस्ता उपकरणहरु जिउले वा अन्य केहिले छुईएर बज्छ कि भनेर त्राही त्राही भएर हिड्थ्यौं । संसारकै अग्लो घर बुर्ज खालिफा, पाम आईल्याण्ड, मरिना वे लगायतले दुवईको शान बढाएका छन् । बुर्ज खालिफासँगै रहेको दुवई वाटर फाउन्टेनमा साँझ देखिने पानीको नृत्य कम आकर्षक छैन । इमिरेट्स मल भित्र बनाएको कृत्रिम पहाड, त्यसमा जमाइएको हिऊ, त्यसमा रमाईरहेका बच्चा, बुढा, बुढी पनि हाम्रा लागि अनौठा दृश्य मध्येका केहि थिए । अनि फोर प्वाईन्टको ४३ तलाबाट देखिएको दुवई शहरको रात्री दृश्य कम मनमोहक थिएन ।



र दुवई यात्राको सबैभन्दा रमाईलो अनुभव चाहि ड्रेस सम्वन्धि छ । कतारबाट दुवई उडनु अघिल्लो दिन मात्र दुर्वईको बारेमा गुगल गर्दा फेला पारेका धेरै सामग्री मध्ये दुवईमा लगाउने ड्रेस बारेको सामग्री मेरो दिमागमा ताजै थियो । त्यो सामग्रीमा केटा वा केटी जो भए पनि आफ्नो पहिरनमा हाफ सर्ट, हाफ प्याण्ट भन्दा पनि पाखुरा, कुईना, तिघ्रा, पिडुला छोपिने लुगा लाउनु राम्रो मानिने र त्यस्तै गर्नु पर्ने उल्लेख थियो । तर दुवईमा २, ३ दिन डुल्दा धेरै ठाँउमा मुश्किकले आफ्नो लाज छोप्ने पहिरन लगाएकाहरु निस्फ्रिक्री डुलेका भेटिए । जहाँ जतिखेर मुश्किलले जिउ ढाक्ने पहिरनवाला भेटिन्थे, उहि गुगल सामग्री मनमा आईहाल्ने । अहिलेपनि बेला बेलामा ड्रेस सम्बन्धि जानकारी सम्झेर हाँसो उठ्छ ।
Burj Kalifa, World Tallest Tower
Marina Bay

Children enjoying in artificial snow inside the Emirates Mall

Night Seen from level 43 of Four Points By Sheraton

Night Seen from level 43 of Four Points By Sheraton
र काठमाण्डौं आएपछि दुवईको आकाशमा स्काई डाईभिङ्ग गर्ने व्यवस्था पनि रैछ भन्ने यो भिडियो हेरेपछि थाहा भयो । 


दुवई घुमघामलाई अबिष्मरणिय बनाउन सहयोग गर्ने क्रिशोललाई धेरै धेरै धन्यवाद :)

कतार र दुवई  घुमघामको अन्य सामग्री
कतारको मिनी नेपाल
खाडी यात्राका केहि तिता क्षण
परदेशी कान्छाको परदेश कथा

2 comments:

  1. बाहिर जस्तो भनिन्छ, सुनिन्छ, त्यस्तै छैन दुवई... सबै देशको आफ्नो मुल्य, मान्यता र संस्कृती हुन्छ... यहाको तिनै आधारभुत मुल्य, मान्यता र संस्कृतीलाई सम्मान गर्न सक्यो भने ब्यक्तिगत स्वतन्त्रतामा रोक तोक छैन....

    ReplyDelete
  2. Really amazing - My dream destination is Dubai now :)

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates