Friday, October 05, 2012

अनि दशै आउछ ...

उमेरले उकालो चढ्दै गएपछि बितेका कुरा सम्झदामात्र पनि मन रोमान्चित हुने रै'छ । त्यसमाथि सानो छदाँ गरेको उपद्रो, चाडपर्व मनाउदाको छाप त जहिले पनि मनमा ताजै, उस्तै । चाडपर्व मध्ये पनि दशैमा गरिने रमाईलो, उटपट्यांग त झनै रमाईलो ।

मोरंगको सुन्दरपुर र काठमाण्डौंमा पछिल्लो समयमा मनाएका दशै खासै यादगार नभएपनि पहाड (भूल्के भोजपुर) मा मनाएका दशैहरु स्मृतिमा ताजै छन् । दशै आउनुभन्दा १०, १५ दिन अगाडि घर नजिकैको बाटो सरसफाई गरेपछि दशै आउन लागेछ भन्ने थाहा हुन्थ्यो । बाटा वरिपरिको झार, भत्केको ठाँउमा मर्मत गर्नलाई टोल, वडा, गाऊ पूरै जुट्थ्यो । एक, दुई दिन अगाडि नै थाहा हुन्थ्यो बाटो सरसफाई हुने दिन । सानै भएपनि म पनि कुटो, कोदालो बोकेर २, ४ वटा दशैको बाटो सरसफाईमा समावेश भए । घर पोत्नका कमेरो वा रातोमाटोको प्रयोग हुन्थ्यो । त्यो माटो, कमेरोलाई खडकुलामा हालेर घोलिथ्यो र घर रंगाईन्थ्यो । कमेरो, रातो माटो लिन कम्तिमा पनि एकाध घण्टा हिड्नु पथ्र्यो ।
नवरात्र शुरुभएपछि गाँउको पुछारमा रहेका दर्जी दाईले हरेक घरमा नवरात्रभरि नरसिंगा बजाउथे । अरु घर भ्याउदै हाम्रो घरमा आईपुग्दा दिनको १२, १ बज्थ्यो । अष्टमी हो कि नवमीको दिन उनलाई खसी काटेको छ भने पुछरसहित नत्र भए फलफुल, सिदा, चामल, पैसा दान दिनु पथ्र्यो । लिंगे पिंग हाल्नलाई महिनादिन अघि देखे नै कस्को खरबारीमा बाबियो छ भन्दै खरबारीका कान्लाको रेकी हुन्थ्यो र आधारातमा फौजसहित हमला गरिन्थ्यो । धेरै पटक घरमा राखेको ठाँउबाट पनि बाबियो चोरियो । पछि चोरी काण्ड थाहा पाए भने पनि माफ गरिदिन्थे । 

दशै आएपछि सबैभन्दा दिक्क लाग्ने चाहि धान कुटेर चामल र चिउरा बनाउन हुन्थ्यो । गाउको नजिकै मिल थिएन । त्यहि भएर धेरै पटक घरमै चिउरा र धान कुट्नु पथ्र्यो । घिउरा कुट्न चाहि सार्है झन्झटिलो । धान तातो पानीमा भिजाउनु पर्यो, भुट्नु पर्यो, कुट्नु पर्यो, निफन्न पर्यो, समय नै धेरै लाग्ने । तर छरछिमेकी सबै मिल्दा यस्ता काममा समय वितेको पत्तै हुन्नथ्यो ।

घरको कान्छो र दाजुहरु शहरतिर भएकाले दशै आउने बित्तिकै केहि न केहि नयाँ आउथ्यो । कहिलेकाहि दाजुहरु आउनु भएन भने गाउमै कपडा किनेर नयाँ लुगा सिलाइन्थ्यो । लुगा सिलाउन गाँउका दर्जीलाई भ्याई नभ्याई हुन्थ्यो । ती दर्जि दाई सहयोगि सहित मेशिन बोकेर घर घरमै आउथे । लुगा छेकाएर कहिले लुगा सकिन्छ र लाउला भन्ने हुन्थ्यो तर ति लुगा टीकाको दिनमा मात्र लाउन पाईन्थ्यो । फुलपातीको दिनदेखि टीकाको दिनसम्म रेडियो नेपालबाट दशै सम्वन्धि नाटक बज्थ्यो (अहिले बज्ज होला कि नहि??) । नाटक सुनिरहदा नाटकमा बोल्ने देवी, दैत्यको तस्विर मनमा झल्झली बन्थ्यो । नाटक सुन्नकै लागि पहिला नै सबै काम सकेर बसिन्थ्यो । नयाँ नोटको कुरा गरेन भने दशै खल्लो हुन्छ । साखै मामाघर तराईमा भएपनि नजिकैको मामाघर पर्ने सबैतिर टीका लाउन भ्याईन्थ्यो । त्यसमा पनि नयाँ नोट दिनेहरु पहिलादेखि नै परिचित, तिनीहरुको नजाने छोड्ने कुरै थिएन् । 

दशै स्कुले साथीहरु माझ झनै रमाईलो हुन्थ्यो । दशै नजिकिदै गएपछि सदरमुकामबाट कसै हात हिरो हिरोईनको पोष्टकार्ड मगाईन्थ्यो । त्यतिबेला राजेश हमाल, धीरेन शाक्य, गौरी मल्ल, मेलिना मानन्धर, भुवन केसी, करिश्मा मानन्धर खुबै नाम चलेका । हिन्दी सिनेमा र हिरोहिरोईनको बारेमा त थाहै नै थिएन । ती पोष्टकार्डमा शुभकामना लेख्दै साथीहरुलाई बाडिन्थ्यो । कसले धेरै दिन भन्ने प्रतिस्पर्धा चल्थ्यो । अझ सम्भव भयो भने बिजया दशमीको शुभकामना लेखेको फ्रेममा फोटो खिचाएर पनि बाडिन्थ्यो । अहिले त्यो बेलाका फोटा हेर्दा मन रोमान्चित हुन्छ । 

यसपटक पनि दशै नजिकिदै छ । दशै नजिकिदै गर्दा फेसबुक, ट्वीटर पनि विस्तारै दशैमय हुदैछन् । अझ आज त ट्वीटरमा यस्तो गरेपछि दशै आउछ र उस्तो गरेपछि दशै आउछ भन्दै दशैको खुब याद गरियो । बिहान ८ बजेदेखि ९ बजेसम्म मेरो ट्वीटरको टाईमलाईन भेटिएको दशैचाहि यस्तो थियो ।


दशै सम्बन्धि मैले पढेको अन्य केहि व्लगहरु यहाँछन् । सम्बन्धित लेखकको अनुमति बेगर यहाँ लिंक राखेको छु, भेटेको बेलामा नगोद्लान नि :)

2 comments:

  1. "कहिलेकाहि दाजुहरु आउनु भएन भने गाउ किनेर नयाँ लुगा सिलाइन्थ्यो"
    किस्न सर यो गाउ किन्ने भन्नि कुरो बुझिएन हउ

    ReplyDelete
    Replies
    1. गाउमै कपडा किनेर नयाँ लुगा भन्न खोज्या थिए........अहिले सच्याईसके है :)

      Delete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates