Wednesday, September 26, 2012

कतारको "मिनी नेपाल"


अर्काको देशमा पाईला राख्ने बित्तिकै दिनै जसो बोल्दै आएको भाषा विरानो बन्न थाल्छ । दिनदिनै खादै आएको स्वादे जिब्रो बेस्वादिलो हुन थाल्छ । वरिपरिको वातावरण र रहनसहन पराई लाग्न थाल्छन् । आक्कल झुक्कल हुने विदेश यात्रामा मलाई सबैभन्दा बढी बिझ्ने कुरा यिनै र यस्तै हुन । तर यसपटकको कतार यात्रा अरु यात्रा भन्दा विल्कुलै भिन्न भयो । आफ्नै भाषामा कुराकानी गर्ने दाजुभाई प्रसस्तै भेटिए, आफ्नै देश र स्वादका खानेकुराले पेट भरियो र आफ्नै परिवेशमा हिडेको, डुलेको महशुष भयो । 

दुवई एयरपोर्टको ट्रान्जिटमा दोहाका लागि बिमान कुर्दा भोकले असाध्यै गलाएको थियो । मध्यरात भएकोले ड्युटी फ्रिका केहि पसल मात्र खुल्ला थिए । अलि कुनामा रहेको म्याकडोनाल्डमा भिड थियो । हामी चारै जनाका आँखा पसलको भित्तामा टासेका म्याकडोनाल्डका बिभिन्न परिकारमा गएर गढेका थिए । एक आपसमा के खाने भनेर नेपालीमा कुरा मात्र के गरेका थियौं, अर्डर लिन तम्तयार दाई÷भाईले “ए नेपाली पो हुनुहुदो रैछ” भने । त्यसपछि त के चाहियो, नेपालीमा बात मार्दै नेपाली जिब्रोलाई स्वादिलो लाग्ने स्पाईसी बर्गर खान उनले सुझाए । भोकले जे भेटेपनि खाउ भएका हाम्रा लागि उनको सल्लाहलाई नकार्ने कुरै भएन । 

दोहा एयरपोर्टबाट होटल जाने ट्याक्सीका चालक पनि नेपाली नै परे । चिटिक्क परेको वेस्टकोटसहितको डे्रस, सफाचट गाला, जेल लगाएको कपाल, उनी काठमाण्डौंमा देखिने आम ट्याक्सी चालक भन्दा फरक देखिन्थे । बाटामा गफिदै जादा कतारमा उनीजस्ता हजारौं नेपाली ट्याक्सी चालक रहेको थाहा भयो ।
Doha City View in Day
कतारको ७ दिने बसाईमा विभिन्न नेपाली संघसंस्थाको प्रतिनिधि, व्यावसायी, पेशाकर्मी, मजदुरसँग भेट भयो । नेपाली समाजले राखेको विभिन्न कार्यक्रममा सहभागि भईयो । अझ म त पटक पटक कहिल्यै नभएको पत्रकार भए, अतिथि भए । तरबार चोक, जैदा टावर र मुन्तजा पार्कको खुल्ला चौरमा विदाको समयमा दुःख सुख साटेर बसेको नेपालीसँग कुराकानी गरियो । अलखोरको मरुभूमिमा कतारी शेखको सौखले बनाएको मजरा (बगैचा)मा कुखुरा, परेवालाई चारो हाल्दै गरेका उदयपुर बेल्टारका भाई, साउदीबाट किनेर ल्याएको माटोलाई बालुवामाथि खन्याएर आफ्नै रेखदेखमा लहलह घाँस हुर्काएका दकम र धरानका भाईहरुसँग भेट्दा पूर्वाञ्चलतिरै छौ जस्तो भयो । तरबार चोकमा शुक्रबारे विदा मनाउन भेला भएको नेपालीको संख्या, समूह देख्दा आफ्नै गाउघरकै कुनै हाटबजारको याद आयो । नेपाली भेट्नु पर्यो भने शुक्रबार तरबार चोक र बाँकी दिन साँझतिर मुन्तजा पार्क र जैदा टावरतिर सोझिदा हुने रैछ । ट्याक्सी वा बस चढ्न परेन, कतै न कतै आफ्नै गाडी भएका नेपाली भेटिहाल्थे, उनीहरुसँगै एकठाँउबाट अर्को ठाउमा गईयो । कहिकतै पनि नेपालीको सामिप्यता र नेपाल छोडेको महषुश गर्न परेन ।

नेपालीहरुको श्रम र पसिनामा हुर्केको घाँस
 प्रतिमहिना १० हजार नेपाली रुपियाँका लागि ज्यानको बाजी राखी आँशु पसिना बगाउने नेपालीदेखि कर्मचारी भएरै प्रतिमहिना १० लाख भन्दा बढी कमाएर शानसँग बसेका नेपालीसँग पनि गफिने मौका मिल्यो । सबैका उस्तै कथा, थोरै कमाउनलाई धेरै कमाउन पाए, धेरै बचाउन पाए, बेला बेलामा घर जान पाए हुने भन्ने चिन्ता । अनि धेरै कमाउनेलाई चाहि घुम्ने, खर्च गर्ने ठाँउ नभएकोमा चिन्ता, दुई दिने विदा (शुक्रबार र शनिबार) कहाँ जाने, कोसँग भेट्ने भन्ने चिन्ता, काममा सन्तुष्टि नमिलेको चिन्ता । हामीले भेटेका मध्ये अधिकांश बिदामा नेपाल गएर फेरि कतार नै फर्कने इच्छा रहेको बताउथे । दाजु, भाई, साला, जेठान, ज्वाई, छिमेकी, साथीभाईलाई समेत आफू आएपछि कतार ल्याएका र ल्याउने तयारीमा रहेका पनि धेरै भेटिए । 
परेवालाई चारो खुवाउने काममा उदयपुर बेल्टारका भाई
झण्डै ४ लाखको संख्यामा रहेका नेपालीलाई लक्षित गरेर साना भन्दा साना किराना पसल, होटल, कम्प्युटर, मोवाईल पसलमा पनि उल्लेख्य संख्यामा नेपाली कामदार छन् । पैसा सटही काउन्टरमा गएर नेपाली पैसा मज्जाले साटफेर गर्न सकिन्छ अनि त्यहिबाट नेपाली बैंकमा खाता खोल्न पनि सकिन्छ । मोवाईल, कम्प्यूटर पसलमा गएर न्यूरोडमा जस्तै मज्जाले नेपालीमा बार्गेनिंग गर्दै सामान किन्न सकिन्छ । नेपाली खाना खाना मन लाग्यो थकाली भान्सा घर छदैछन् । खसीको भुटनसहित नेपाली पिरो पिरो नेपाली स्वाद, ओहो अहिले पनि मुख रसाउथ त्यहाँको खाना सम्झदा ।
काम सकेर पनि कम्पनीले तलव र पासपोर्ट नदिएपछि घर फर्कन पाउ भनेर उजुरी गर्न दुतावास आएको नेपाली
पैसा कमाउने, सुखी भबिष्यको कल्पनामा मरुभूमि भासिएकाहरु मध्ये दुःख, हण्डर खाने पनि कम्ता छैनन । महिनावारी तलव नपाउने, सम्झौता बमोजिमको काम सकेर घर फर्कने बेलामा कम्पनीले तलव र पासपोर्ट नदिने,  नेपालमा दिन्छु भनेको काम र तलब कतार आएपछि नपाउनेहरु प्रसस्तै छन् । लेवर काम गर्नेका लागि खाना र वासको समस्या छ । हजारौंको संख्यालाई तयार पारेको मेसको खाना, एउटा कोठामा धेरैजना कोचिएर बस्नुपर्ने, ४०, ४५ डिग्री तातोमा एसी बिनाका कोठामा सुत्नु धेरै नेपालीको दैनिकी हुन्छ । अझ नेपाली व्यवसायीले चलाएको कम्पनीमा काम गरेर ५ महिनादेखि तलब नपाएको भन्दै उजुरी गर्न दोहास्थित नेपाली दुतावासमा उपस्थित नेपाली दाजुभाईका कुरा सुन्दा त मन भरिएर आउछ । 

१ लिटर पानी किन्नु भन्दा सस्तो पर्छ १ लि. पेट्रोल र डिजेलको । ल्याण्डलाईनबाट ल्याण्डलाईनमा फोन गर्दा पैसा लाग्दैन । जागिर वा व्यापार गरेर कमाएको पैसामा एक पैसा कर तिर्नु पर्दैन । अझ दक्ष जनशक्ति जस्तै डाक्टर, इन्जिनियर, चार्टड अकाउण्टेण्टहरुको कमाई त साँच्चिकै आकर्षक छ । भनाई नै रहेछ ५० जना लेवर बराबर एक जना डाक्टर । पैसा जोगाउने र कमाउने थलोको रुपमा अमेरिकन र युरोपियनबीच पनि उत्तिकै आकर्षक गन्तब्य रहेछ कतार । 
Nepalese' Friday Gather in Tarbar Chock
नियम, कानून र सिस्टम जस्ता कुरालाई वाल दिने हाम्रा (नेपाली) लागि त्यहाँको जीवनमा घुलमिल हुन अलि कठिन लाग्यो । एउटा साथीले जहाँ तहि फोटो नखिच्न सुझावएपछि झोलाको क्यामरा निकाल्न पनि डर लाग्न थाल्यो । कहाँ कतिखेर कुन नियम मिचिएला र आपतमा परिएला भनेर त्रासै त्रासमा हिड्नु पर्यो । जथाभावी बाटो काट्दा हुने मंहगो जरिवाना सुनेर बाटो काट्नलाई आधाघण्टा हिडेर भएपनि जेव्रो क्रस नै पुग्न बाध्य भईयो । कतारमा जथाभावी रक्सी किन्न र बेच्न कानूनी बन्जेछ छ । लाईसेन्स भएकाले मात्र पिउन र किन्न पाउछन  र लाईसेन्स लिन निश्चित आयश्रोत देखाउनुपर्छ ।

पछिल्लो समयमा कानूनले निषेध गरेको क्रियाकलापमा नेपालीहरुको संलग्नता बढ्दै गएको प्रसस्तै सुन्न, पढ्न र भोग्न पाईन्छ । नेपालबाट लुकाईछिपाई मर्चा ल्याएर जाँड बनाउने, लंगुरबुर्जा खेलाउने, बंगलादेशीलाई बेच्ने, व्लु फिल्मका सिडीहरु कपी गर्ने, बेच्ने काममा नेपालीहरुको संलग्नता पुष्टि हुन थालेको छ । केहि सयम अघि लंगुरबुर्जा खेलाउन क्रममा दुई नेपाली समूहबीच तरवार हानाहान, काटाकाट नै भयो । कतारको कानून यस्ता क्रियाकलाप गर्नेहरु विरुद्ध कठोर छ । यस्तै काममा लागेका केहि नेपाली त्यहाँको अदालतले तोकेको जेल सजाय र लाखौ नगद जरिवाना तिर्न नसकेर जेलका हावा खाईरहेका छन् । 

कतारमा बस्दा सबैभन्दा अनौठो लागेको कुरा चाहि त्यस्तो चर्को र ठन्टलापुर घाममा एकजनाले पनि छाता ओढेको देखिएन । नेपाली पुगेको ठाँउमा छाता चाहि कसरी पुगेन होला भनेर अहिलेसम्म पनि जिज्ञासा मेटिएको छैन । रुख, विरुवा रोप्नका लागि अरु देशबाट माटो किनेर ल्याउनु पर्ने कुरा हाम्रा लागि अचम्मको थियो ।
Night Scene of Doha City
बडेमानका घर, ८० किमी प्रतिघण्टा भन्दा बढीको स्पीडमा खाल्डाखुल्डीरहित फराकिला सडकमा गुडिरहेको चिल्ला गाडी, होटलको झ्यालबाट रातभरि झिलिमिली देखेने शहर र बाहिर निस्कने वित्तिकै आउने तातो हावाको झोकाले मात्र हामीलाई बेलाबेलामा नेपाल भन्दा बाहिर रहेको आभाष दिलाउथ्यो । नत्र कतारको ७ दिने बसाई नेपालकै कुनै ठाँउमा फिल्ड भिजिट गएजस्तै गरि वित्यो ।

4 comments:

  1. ल ठ्याक्कै आफैं पुगेजस्तो लाग्यो :)

    ReplyDelete
  2. नेपालमै बसेर धेरै नेपालीको स्वप्न सहरको बारेमा धेरै कुरो बुझ्न पाइयो

    ReplyDelete
  3. Krishna jee, kasto ramailo gari lekhnu bhayachha ....
    ramro lagyo .

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates