Sunday, September 23, 2012

खाडी यात्राका केहि तिता क्षण

“दुःख पाईस मंगले आफ्नै ढंगले” उखान यसपल्ट आफैलाई लागू भयो । दुःख भनेर उत्पात, आकाशै खसेर थिचे जस्तो दुःख हैन, तर पनि थाहा पाउदै पाउदै, जान्दाजान्दै आफ्नै वरीपरिकाबाट दुःखी हुन पर्यो । जसको सिलसिला काठमाण्डौंको एयरपोर्टबाटै शुरु हुन्छ । 

कम पैसामा उडाउने भएपछि फ्लाई दुवई (Fly Dubai) आजकाल कतार र युएई जाने धेरै नेपालीको पहिलो प्राथमिकतामा पर्छ । हाम्रो पनि काठमाण्डौं-कतार-दुवई-काठमाण्डौंको टिकट फ्लाई दुवईकै थियो । बजेट एयरलाईन्स भएकोले विमानमा पानी लगायत सबै खानेकुरा किनेर खानुपर्छ । अझ लगेजको पनि छुट्टै पैसा तिर्नु पर्ने । टिकट किन्दा पैसा थप्यो भने एक जनाले २० केजी वा पैसा अनुसार बढी तौलको लगेज लान पाउछ । हामी ४ जना भएकोले २ वटा टिकटमा मात्र प्रति टिकट २० किलो लगेजको पैसा तिरेका थियौं, ४ जनाको ४० किलो भन्दा बढी हुदैन होला भन्ने हिसाबले । तर एकमित्र एक्लै ३७ किलोको सुटकेश बोकेर टुपुल्किए । उनको ३७ किलोको व्यवहार मिलाउन हामीलाई कम्तिमा डेढ घण्टा लाग्यो, त्यो पनि एकजनाले आफ्नो सुटकेशलाई हेण्डक्यारी बनाएपछि मात्रै । ३७ किलोलाई २० किलोमा झार्न अरु ३ वटा अरु सुटकेश र व्यागहरु खोतल खातल पार्नु पर्यो । आफ्नो सुटकेश ह्याण्डक्यारी गर्नुपर्ने भएपछि साथीले देखाएको रिस हेर्न लायकको थियो । 
कतारको दोहाका लागि टिकट भएपनि हाम्रो ट्रान्जिट दुवई थियो लगभग ३ घण्टा । तर काठमाण्डौ विमानस्थलका कर्मचारीले दुवई दोहाको बोर्डिग पास दिएनन् । दिन खोजेजस्तो गरेका थिए, तर सिस्टममे प्रिन्ट गरेन भनेर दुवईमै लिन सल्लाह दिए । यस्तो लाग्थ्यो ती कर्मचारीहरु कम्प्यूटर वा  सिस्टम चलाउन सिक्दैछन् ।

मिडियामा अध्यागमनलाई समेत जोडेर एकपछि अर्को सेटिंग र मानव तस्करीका कथा बाहिर आएपछि सरकारले खाडी मुलुक, टुरिस्ट भिसामा यात्रा गर्न प्रतिबन्ध लाएको थियो । यो थाहा पाउदा पाउदै हामी त्यहि टुरिस्ट भिसा बोकेर अध्यागमनमा पुग्यौं । यात्रारत एक साथीले चिनेका मान्छे भेटिए र सोचेजस्तो झमेला नबेहोरी इमिग्रेसन पार भयौं । भनसुन र चिनजानले काम गर्ला भन्ने आशामा हामी त्यहाँ (अध्यागमन) पुगेका थियौ, नभन्दै त्यसैले काम गर्यो पनि । बोर्डिस पास लिने बेला पाएको सास्ती केहि भएपनि अध्यागमनका कर्मचारीको अनौठो र अपेक्षा नगरिएको व्यवहारले मल्हम लगाई दियो ।

दुवई उत्रिदा त्यहाँको स्थानीय समय रातको १० बजेको थियो । बोर्डिंग पास लिन लाग्दा त्यहाँकी महिला कर्मचारीले कतारको होटल बुकिंग मागिन र होटल बुकिंग बिना बोर्डिंग पास दिन नमिल्ने बताईन । हामी मध्ये कै एक साथी होटल बुकिंग चाहि छ, तर इमेलमा भएकोले प्रिन्ट गर्न सकिएन भने । ती महिलाले एउटा इमेल ठेगाना दिदै सो बुकिंग उक्त इमेलमा पठाउन अनुरोध गरिन । साथी एक कदम अगाडि बढेर हामी मध्ये कोहिसँग पनि ल्यापटप नभएको बताए । त्यसपछि उनले फोनबाट कसैलाई हाम्रो बारेमा रिर्पोट गरिन । फोनमा कुरा गर्नेले उनलाई के भने कुन्नि उनले होटल बुकिंग छैन भने प्रतिव्यक्ति क्यास ५ हजार कतारी रियाल (लगभग १४ सय डलर) भएको खण्डमा बोर्डिस पास दिन मिल्ने बताईन । ट्राभलचेकलाई छाडेर हामीसँग उनले भनेजति क्यास नभएको बतायौं । ती महिला फेरि कसैलाई फोन गरिन र हामीलाई अलि पर कुर्न भनिन् । केहि समयमा एक टाईसुट लगाएका पुरुष हामी तर्फ आए र भिसा, टिकट, पासपोर्ट देखि अन्य कागजपत्र जाँचगरेपछि क्यास नभएसम्म जान नमिल्ने बताए । ट्राभल चेक र क्यास गर्दा हामीसँग लगभग त्यति पैसा भएको बताएपछि (चेक र पैसा हेरेनन, गनेनन्) ती पुरुषले बोर्डिस पास जारी गर्ने आदेश दिए ।

खासमा हामीसँग होटलको बुकिंग थिएन किनकी दुई जना साथीहरुले उत्तैका साथीहरुसँग मिलेर बस्ने प्रबन्ध मिलाएका थिए भने हामी (सहकर्मी सुनिल न्यौपाने र म) त्यतिबेलासम्म पनि कता बस्ने ढुंगो थिएन (हामी दुईको बासको टुंगो नहुनुमा चाहि हामीसँगै यात्रा गर्ने साथीले दोहामा बासस्थानदेखि सबै कुराको प्रबन्ध मिलिसकेको छ भनेपछि हामी पनि ढुक्क परेका थियौं । तर यात्रा गर्नुभन्दा केहि घण्टा अघिमात्र बास आफै खोज्नुपर्ने जानकारी पाएपछि जे त पर्ला भन्ने हिसाबले हामी हिडेका थियौं) । र यात्रा गरेका हामी चारै जनासँग ल्यापटप साथमै थियो । धन्य त्यहाँका कर्मचारी चेक गरेन नत्र झुट बोलेको अभियोगमा त्यहि थुनि दिन्थ्यो होला र नेपाल फिर्ता पठाउथ्यो होला । देश विदेश धेरै डुलेका हाम्रा साथीले जानीजानी झुट बोले वा आत्तिएर अहिलेसम्म नि थाहा भएन । फ्लाई दुवईका कर्मचारीले हामी ४ बाहेक अरु सबैको बोर्डिग पास काठमाण्डौं मै दिएका रैछन । हामीलाई सिस्टम मिलेन, प्रिन्ट भएन भन्या त बहाना मात्र रैछ । नत्र अरुको प्रिन्ट हुने र हाम्रो नहुने नि कहि हुन्छ ।

अब त दोहा पुग्नलाई केहि समस्या हुन्न होला भन्दै दोहाका लागि बिमान चढ्न लाईन लागियो । त्यो लाईनमा बोर्डिग पास, भिसा र पासपोर्ट जाँच गर्ने उहि हामीसँग पैसा छ कि छैन भनेर सोधपुछ गर्ने टाईसुटवाला थिए । लाईनमा अरु साथी भन्दा अगाडि म बसे । तर मेरा बोर्डिंग पास र पासपोर्ट जाँचेपछि तिनलाई के सनक चढ्यो कुन्नि पैसा देखा पो भन्न थाले । लाईनमा अरु नेपाली पनि थिए । म साईड लागे र अन्य ३ जना साथीसँग पैसा र ट्राझल चेक बटुल्न थाले । भएजति पैसा र ट्राभल चेक दिएपछि ती टाईसुटवालाले आधा गने, गन्न झिझो लागेछ कि क्यो हो, पैसा र चेक फिर्ता दिदै बिमानतर्फ जान इसारा गरे । काठमाण्डौंमा बोर्डिंग पास दिएको भए वा होटलको बुकिंग भएको त्यत्ति बेईज्जती त खप्नु पर्थेन भन्दै बिहानको ३ बजे दोहा पुग्यौं । धन्य, दोहामा रहनु भएका साथीले दुवईबाट लेखेको इमेलको आधारमा होटल बुक गर्दिनु भएछ । त्यो पनि दोहा शहर देखिने गरि सातौ तलामा । हाम्रो सास्तीमा फेरि मल्हम लाग्यो । 

राष्ट्र बैंकले केहि समयदेखि बजारमा डलर अभाव भयो भनेर विदेश जाने नेपालीलाई प्रतिव्यक्ति ५०० डलर क्यास र बाँकी २ हजार डलरसम्मको ट्राभल चेक लान पाउने व्यवस्था गरेको रैछ । मेगा बंैंकमा खाता भएकोले मेगा बैंकसँग सम्पर्क गर्दा ५ सय भन्दा बढी क्यास दिन नमिल्ने र ट्राभल चेक सेवा बैंकमा नभएको बतायो । बल्लतल्ल हिड्नु भन्दा केहि घण्टा अघि सनराईज बैंकबाट दुईजनाको नाममा १ हजार डलर क्यास र बाँकी ट्राभल चेक साट्न सफल भयौं । तर त्यहि ट्राभल चेक सास्तीको अर्को अंग बन्यो । दोहाका आधा दर्जन भन्दा बढी बैंक र सटही काउन्टर घुम्दा कसैले नि ट्राभल चेक साटेनन् । एउटाले अर्कोलाई देखाउछ तर कसैले नि साट्न मान्दैनन् । ट्राभल चेक साटिन्छ भनेर यता दर्गुदा र उता दर्गुदा बाँकी भएको क्यास पनि साट्न भ्याईएन । दोहा छोड्न अघिल्लो रात लगभग १० बजेतिर एकसाथीलाई बचेखुचेको डलर दिएर कतारी रियाल लियौं । ती साथीले हामीलाई फेरि उद्दार गरे । दुवई आएपछि एउटा सटही काउन्टरले रेट भन्दा धेरै तल झरेर ट्राभल चेक साट्यो, जसले गर्दा ५ प्रतिशत भन्दा बढी घाटा भयो । फेरि पनि हामीलाई आफ्नै देशको सरकारले लज्जित बनायो, दुःख दियो । अरु देशमा थाहा भएन तर युएई र कतार कोहि जार्दै हुनुहुन्छ भने ट्राभल चेक चाहि नबोक्दा नि हुने रैछ ।

कतारपछि दुवईमा केहि रात बस्ने योजना बमोजिम त्यहाँको चाहि होटल बुकिंग कतार पुगेको भोलिपल्ट नै गर्ने निर्णय गर्यौं । तर भनेजस्तो कहाँ हुन्छ र दुवई उड्न दोहा एयरपोर्ट पुगेपछि मात्र सो बुकिंग हात लाग्यो । धन्न दुवई अध्यागमनले केहि कहाँ बस्ने, पैसा कति छ, केहि सोधेन ।

अन्तिम समयमा काम गर्ने बानीले यसपल्ट कतारको भिसामा बढी पैसा तिर्नेदेखि टिकट लगायत धेरै कुरामा बढी नै मूल्य तिर्नु पर्यो । कहिलेकाहि अरुलाई विश्वास गर्दा र परनिर्भर हुँदा सिकाईको मूल्य अलि बढी नै तिर्नुपर्दो रैछ । सबै कुरा समय मै गर्नु पर्छ भनेर जान्दा जान्दै, बुझ्दा बुझ्दै पनि २,४ वटा देश घुमेको मैले पनि दुःख पाए । धन्य दोहामा कुमारजी र दुवईमा क्रिशोलजीले सहयोग नगर्नु भएको भए हाम्रो यात्रा साँच्चिकै बिर्सनलायक हुने थियो । 

१२, १४ हजार कमाउनका लागि देश छोडेकाहरु, कतार र युएईका संघसंस्था र तिनका काम, नेपाली दुतावास, नाम र दाम कमाएर शानसँग बसेका नेपालीहरु र कतार, युएईमा भएका रमाईला क्षणहरुको बारेमा क्रमश लेख्दै जानेछु ।

No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates