Saturday, September 15, 2012

"परदेशी कान्छा"को परदेश कथा


सेप्टेम्बर १४, २०१२, शुक्रबार । दिनको २ बजिसकेको छ । ४० डिग्री तामक्रमको पारो विस्तारै घट्ने क्रममा छ । कतारको दोहास्थित तरबार चोक वरिपरि रहेको चौर र पीपलबोटमा मेचिदेखि महाकालीबाट काम गर्न कतारको दोहा आएका नेपालीहरुको चहलपहल विस्तारै बढ्दैछ । तातो घामबाट बच्न कोहि पर्खालको आडमा, कोहि रुखको छहारीमा बसेका छन । ४, ५ जना देखि २०, ३० जनाको समूह समूहमा बसेकाहरु गफिदै, आफुले ल्याएको पानी, जुस, कोक, खानेकुरा खादै छन् । मोवाईलको एयरफोन कानमा घुसाएर टोलाउदै एक्लै बस्नेहरको संख्या कम छैन । समूहको नजिकै पुग्दा आउन लागेका दशै तिहारका कुरा सुनिन्छन, ती चाडबाडमा घर जान ठिक्क परेकाहरुको अनुहारमा आएको चमक देखिन्छ । मोवाईलबाट बाहिरै सुनिनेगरि नेपाली दोहोरी गीत बजिरहेका छन । गाउघरको कुनै पनि हाट बजार भन्दा कम छैन माहौल । समूहमा थपिने, घट्ने क्रम चलिरहेको छ ।

खोज्दै जादा यो हुलमा भनेजति तलब नपाएर, तातो खप्न नसकेर वा अन्य विभिन्न कारणले अहिले नै घर फर्किन पाए नि हुन्थ्यो भन्नेहरु धेरै भेटिन्छन । अलि सजिलो र घरभित्र काम गर्नेहरु चाहि यतै राम्रो भएको, थोरै थोरै पैसा पनि कमाएको,  दाई, भाई, काका, ज्वाई, साला, जेठानलाई कतारतिरै कामका लागि बोलाउन तयारी गर्दै गरेकाहरु पनि प्रशस्तै भेटिन्छन् । र यसै हुलमा भेटिएका सोलुखुम्बु जुभूका तुलाराज राई “परदेशी कान्छा”को कथा चाहि यस्तो छ । 

३९ बर्षिय तुलाराज राई सोलखुम्बको जुभूबाट ३९ महिना अघि दाम कमाउने र परिवारको भविष्य सुन्दर बनाउने सपना देख्दै कतार उडे । तर कतार उत्रको पहिलो गाँसमै ढुंगा लाग्यो । “मलाई खान, बस्न दिएर ६०० कतारी रियाल दिन्छु भनेको थियो म्यानपावरले तर यहाँ आएपछि सुख्खा ६०० दिने थाहा भयो अर्थात ६०० भित्र खाना, बास सबै जुटाउने झमेला आईलाग्यो” उनी सम्झन्छन । तरबार चोकको वरिपरि रहेका नेपालीहरुले नै खडा गरेका बडेमानका घरतिर हेर्दै उनी भन्छन् “मैले त्यो सुख्खा ६०० पनि लगभग ४ महिनाजति पाईन ।” तर ४ महिनापछि कम्पनीमा व्यवस्थापक फेरियो र नयाँ व्यवस्थापक आएपछि उनले नियमित तलब पाउन थाले । घर बनाउने कम्पनीमा लेबरको काम (उनैकै भाषामा बेल्चा, गैतीको काम) मा आएका उनी अहिले सोहि कम्पनीको कार्यालय सहायक छन र रिसेप्सनमा काम गर्छन । तलब पनि खान, बस्न दिएर मासिक ११ सय कतारी रियाल अर्थात लगभग २८ हजार नेपाली पुगेको छ । उनी काम गर्ने कम्पनीमा ४ सय ५० भन्दा बढी नेपाली छन् ।
Tula Raj Rai "Pardeshi Kanchjaa"
कतारको ३९ महिने बसाईमा उनले धेरै कुरा सिके । धेरैवटा शुक्रबार तरबार चोक चौरमा आएर सुस्केरा, हाले, घर सम्झे । आफुजस्तै अन्य नेपालीको पनि कथा व्याथा देखे, भोगे र आफुलाई सम्हाले । “मैले श्रम गर्न सिके, मेहनत गर्न सिके, श्रमको मूल्य बुझे, दुःखमा जिउने सिके, नियम कानुनमा बाँधिन सिके” उनी नहिच्किचाई आफ्ना सिकाई सुनाउछन ।
Friday Gathering of Nepali in Qatar
फुर्सदमा उनी पत्रपत्रिका पढ्ने, साहित्य, लेख लेख्न रुचाउछन् । मोवाईलमा नेपाली गीत सुन्छन् । कान्तिपुर र राजधानी दैनिकले कतारबाट प्रकाशित गर्ने प्रवास साप्ताहिकमा उनका लेख, कबिता, मुक्तक, कविता छापिएका छन् । “परदेशमा रहेका नेपालीका बेदना, कथा, नेपाली चेतनशिल, जागरुक हुनुपर्छ भन्ने बारेमा म लेख, रचना गर्छु” आफूले लेख्ने विषयका बारेमा बताउछन् । गफिदै गर्दा उनले लेखेको एउटा मुक्तक पनि सुनाउन पनि भ्याए ।

संघर्षरत छ जिन्दगी मेरो अनिश्चित गन्तव्यको रफ्तारमा
यस्तै छ जिन्दगी मेरो बाध्यता र विवशताको बन्धनमा
कर्मयोगी पाईलाहरु बढाई अघि सार्दैछु
जिन्दगीका बाधाहरुलाई सर्घषले टार्दैछु 

मुक्तकमा जस्तै उनको जिन्दगी पनि सर्घषमय छ । “म कतार आउनु भन्दा पहिला मलेशिया गएको थिए । तर दुखिया जिन्दगी, म काम गर्ने कम्पनी डुब्यो, जेनतेन नेपाल फर्के ।” अनुहार मलिन बनाउदै विगत सम्झछन् ।

जुभूको घरमा आमा, श्रीमती र तीन छोरा छन् । “आमा, श्रीमतीले मिसकल गर्छन र म यताबाटै कल गर्छु । नेपालबाट फोन गर्न मंहगो छ नि त” मिसकलको कारण बताउछन् । तर आमा र श्रीमतीसँग मोवाईल चाहि छैन रे । उनी थप्छन “पठाईदिउ भनेको चलाउन जान्दैनौं भनेर परिवारले मानेनन । छिमेकी, साथीभाईको मोबाईलबाटै काम चलेको छ ।”  “यता कमाएको पैसाले गाउतिर अलिअलि जग्गा जोडेको छु र आउदाको ऋण थियो त्यो तिरे” उनी खुशी देखिन्छन । यहि सेप्टेम्बर २८ तारिखमा घर फर्कन लागेको उनी कम्ता खुशी छैनन । खुशी नहुन पनि किन, ३९ महिनासम्म आमा, श्रीमती र ३ छोराहरुलाई भेट्ने औडाहामा मरुभूमि काटे । 

“शुरु, शुरुमा त घर, परिवार, साथीभाई, गाउको याद धेरै आयो । दोहा शहरबाट करिब ७० किमी उत्तरको अलखोरमा बस्थे म । समुन्द्रको किनारामा टोलाउदै, त्यहाँ उड्ने जलेवा र मेलेवा हेर्दै, उनीहरुजस्तै समुन्द्रमा डुवुल्की मार्ने औडाहा हुन्थ्यो मलाई” साहित्यिक पारामा उनले कतार बसाईको शुरु अनुभव सुनाए ।

गाँउमा उनलाई तुलाराज भन्दा पनि परदेशी कान्छा भनेर चिन्छन रे धेरैले । परदेशी कान्छा नाम किन राखेको भन्दा उनले यसको लामो कथा छ भन्दै टारे । “जुभुको धारामा बग्ने चिसो पानी, सँगै, पढेका, बढेका साथीभाई उकाली ओराली सम्झदै यताको तातो विर्सनुको बिकल्प के छ र ! लामो सास तान्दै उनी भन्छन् । कुरा गर्दै जादा उनले नेपालको राजनीति पनि जोड्न भ्याए र राजनीति सुर्धे देशमै केहि गर्न पाईन्थ्यो कि भनेर कल्पना गरे ।

आफूले दुःख पाएपनि अरु नेपालीले दुख नपाए हुन्थ्यो भन्ने उनको इच्छा छ । सीप सिकेर, कति पैसा कमाईन्छ, के काम गर्नुपर्छ, हावापानी बुझेर र भरपर्दो म्यानपावरबाट मात्रै कतार आउन उनी अरुलाई सल्लाह दिन्छन ।


No comments:

Post a Comment

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates