Sunday, August 05, 2012

बाल्यकालको सम्झना (When we were little kid)


अहो, त्यो बाल्यकाल, स्कुले दिनहरु । मागेको कुरा पाईने र पुग्ने हो भने म त मेरो बाल्यकाल माग्थे, १० कक्षासम्म विताएका दिनहरु माग्थे । म मात्र होईन, धेरैजसोले यहि माग्थे होलान् । अनि समयलाई रिवाइन्ड गरेर टक्क रोक्न मिल्ने भए, म त १० कक्षापछिको जिन्दगी, भोगाईलाई टक्क रोक्थे र त्यहाँ भन्दा एक वित्ता पनि टसमस गर्दिनथे । 

केहि दिन अगाडि  क्रिशोलप्रभातले गरेका गाउघर, बाल्यकालका कुरा र आज साथीहरुले बाल्यकालका बारेमा गरका ट्वीटसले मलाई पनि मेरो स्वर्ण बाल्यकालको बारेमा लेख्न मन लाग्यो । लगभग १६ बर्षपछि आज मलाई पनि आफु जन्मिएको र हुर्किएको गाँउ (भोजपुर, भूल्के) फर्कन मन लाग्यो, जहाँ मैले आफ्नो जीवनको महत्वपूर्ण र कहिल्यै कहिल्यै नबिर्सने समय व्यतित गरेको छु ।

बर्षभरि खान पुग्ने धान आफ्नो खेतमा नफलेपनि मलाई सधै चामलकै भात चाहिन्थ्यो । कान्छो छोराको जिद्दीका अगाडि आमा, बुबको के नै पो चल्थ्यो र मेरो हरेक छाकमा सेतो भात हुन्थ्यो । कान्छो छोरो हुनुको खुब फाईदा उठाए मैले यस्तै यस्तै अरुका कुरामा पनि जिद्दी गरेर । मकै गोड्न, कोदो रोप्दा बारी खन्न अल्छि मान्ने भएकोले त्यस्तो बेलामा मेरो भागमा भान्सा पथ्र्यो । तर भाँडा चाहि माज्न पर्दैनथ्यो । रोपाई भएको दिनचाहि दिक्क लाग्दो हुन्थ्यो, खेताला समेतलाई खाना खाजा बनाउनु पर्ने । गहँको रोटी बेल्न र आलुको तरकारी पकाउनमा राम्रो थिए रे । कोहि सघाउने भएनन भने त तोरीका फुल देखिन्थ्यो खेताला भएको दिन । यी बाहेक दिनमा एक डोको घाँस त ठेक्का नै थियो, जसरी नि काट्नै पर्ने । अनि भैसी, बाख्राका लागि सोत्तर काट्न पनि हप्तामा दुई तीन दिन जानु पथ्र्यौ । अनि १० बजेदेखि ५ बजेसम्मको स्कूल त छदै थियो ।

कक्षा १ को रिजल्ट भएको दिन म खुब रोएको थिए फेल भए भनेर । धेरै रोएपछि शिक्षक, बुबा, दाईहरुले सल्लाह गरेर दुई कक्षामा नाम लेखाई दिनु भयो । तर त्यसपछि कहिल्यै रुनु परेन । कक्षाको उत्कृष्ट ३ भित्र जहिले नि परे, एसएलसी सम्म नै । (गाउको स्कूले भएकोल ६ बर्ष टेकेपछि सिधै एक कक्षाका भर्ना गरिदिने चलन थियो र म पनि त्यहि प्रक्रियाबाट गुज्रेको हो, नर्सरी, केजी पनि हुन्छ भन्ने त पछि तराई आएपछि १७, १८ बर्षको उमेरमा सुनेको हो) स्कूलको बार्षिक उत्सवमा कक्षाको प्रथम, दोश्रो र तेश्रो हुने तथा अत्तिरिक्त क्रियाकलापमा जित्नेलाई कापी, कलम पुरस्कार दिईन्थ्यो । स्कुले जीवनभर कापी, कलम किनेको सम्झना धुमिल छ । अनि किताब चाहि एक कक्षामा पढ्दा मात्र नयाँ किनेका हो । त्यसपछि कक्षामा जहिलेपछि अरुका किताब (सेकेण्ड ह्याण्ड) किनेर पढियो, पछि १० कक्षा सम्म नै । टेस्ट र एसएलसी परिक्षाको परिक्षा फाराम भर्न फोटो चाहिने भएपछि ४ घण्टा पैदल हिडेर (म पढेको ठाँउमा अहिले नि मोटर बाटो पुगेको छैन) फोटो खिच्न साथीहरुको हुल बाधेर जिल्ला सदरमुकाम गएको हिजै जस्तो लाग्छ । फोटो खिचेर विराटनगर धुलाउने पठाउथे त्यो बेला, अनि झण्डै १० दिन जति लाग्थ्यो धुलाएर आउन । १५ बर्षको उमेर भन्दा अगाडि खिचेको फोटोहरु गन्यो भने १० वटा भन्दा बढी छैनन होला । कहाँ क्यामेरा हुनु र फोटो खिच्नु । सानो बेलामा गुच्चा, डण्डिवियो, ढुस (खोप्पी) खुब खेलियो, स्कूल माया मारी मारी । डण्डिवियो खेल्दा साथीले रिस उठाएपछि त्यहि डण्डीले दिदा साथीको हात भाँचिएको त सायदै विर्सिईन्छ होला । बर्खे विदामा स्कूलको चेस, लुडो चोरेर घरमा ल्याएर त कति खेलियो खेलियो । पछि स्कूल खुलेपछि फिर्ता गरिन्थ्यो । ६, ७ पढ्दा देखि नै कुन केटीले कुन केटालाई मन पराउछन भन्ने थाहा हुन्थ्यो । मलाई मन पराउनेमा पनि ४, ५ जना थिए रे । (आफूले मन पराएका केटीको बारेमा लेख्यो भने त उपन्यास नै तयार गर्नुपर्छ, सायदै कुनै दिन लेख्न मन लाग्यो भने लेखम्ला, अहिलेलाई त्यो चाहि बाँकी) 

दशै आएपछि त रमाईलोको सिमा नै हुन्थेन । नयाँ कपडा किनेर घरमै दर्जी बोलाएर सिउन लाईन्थ्यो । लिङ्गे पीङ    हाल्न धेरै पल्ट अर्कोका खरबारीको बाबियो चोरियो । घरमा जर्नै पूर्णिमाको दिन धामी बस्थे । प्रत्येक बर्ष एउटा भाले कुखुरा चढाउनु पर्ने । पण्डित बाजे, उपाध्याय बाहुनको छोरा, नाती भएपनि कुखुरा खान हामीलाई कहिल्यै बर्जित भएन । पूर्णेको भोलिपल्ट भाले बनाएर खादा अर्कै मज्जा आउथ्यो । जंगलको नजिकै घर भएकोले स्यालले बाख्राका पाठा, कुखुरा उडाई हाल्ने, एक जनाले त रखवारी गर्नेपर्ने, त्यो काम पनि अधिकांश मेरै जिम्मामा हुन्थ्यो । दुई चार पटक त आँखा अगाडि नै स्यालले भर्खर जन्मेका बाख्राका पाठापाठीलाई लगेको छ । खेतमा पानी लगाउन जहिले नि राती जानु पथ्र्यो । धेरै रात खेतमा पानी लगाउदैमा वितेका छन तर एक्लैचाहि बस्नु परेन, बुबा सँगै जानुहुन्थ्यो । आधारातमा भूत आउछ भन्थे तर कहिल्यै भूतसँग फेस टु फेस हुन पाईएन । गहुँ फल्ने बेलामा चाहि दिनभरि खोलो रुगेर बस्नु पथ्र्यो नत्र पानी अर्कैले लगिहाल्ने । सानोमा चिनी र पैसा खुब चोरियो । एक रुपियाका सिक्का त धेरै चोरियो । चिनी चाहि फाँको मार्ने । अर्काका बारीका काक्रा, मटरकोसा, केराउ, लप्सी पनि चोरेर खाईयो । एकदिन राती बारीमा सुकाएको मटर, केराउको मुठो ल्याएर खाईयो । खाईसकेपछि त्यो केराउको बोट अरुले देख्छन भनेर बाल्नुपर्छ भन्ने बुद्धि आयो तर बालेपछि आएको धुवाँले रातभर आँखा पोलेर सुत्न पाईएन । 

यस्ता कथा त कति छन कति, लेख्यो भने किताब तयार हुन्छ :P मेरो मात्र होईन अधिकांशको बाल्यकाल यस्तै हुदो रैछ । ठाँउ, परिवेश अनुसार अलिकति फरक, तर सबैको उट्पट्यांग, केहि न केहि बिझेइ गरेकै । आज ट्वीटरमा #WhenIWasALittleKid लेखेर साथीहरुले शेयर गर्नुभएका आफ्ना अनुभवहरुको #स्टोरीफाई

1 comment:

  1. प्राय सबै जसोका बाल्यकाल मिल्दा हुने रहेछन

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates