Sunday, August 19, 2012

नाइटबसमा चक्रपथ परिक्रमा (kmcnightbus ridding)

इटहरी-काठमाण्डौं-इटहरी गर्दा धेरै पल्ट रात्री बसको चढेको भएपनि काठमाण्डौंका भित्री सडक र चक्रपथमा रात्री बस सञ्चालन हुन थालेपछि एक पल्टमा त्यसमा बसेर चक्रपथ घुम्न पर्ला भन्ने सोचिरहेको थिए ।  हिजो (शनिबार) विहान ट्वीटरको टाईमलाईनमा केहि साथीहरुले नाईटवस चढेर चक्रपथ घुम्ने योजना बनाउनु भएको थाहा पाएपछि म पनि त्यहि समूहमा सामेल भएर २७.३८ कि.मि. लामो चक्रपथको एक चक्कर मारे । 
Photo: Salokya
कोटेश्वरबाट सातदोवाटो, कलंकी हुदै छुट्ने पहिलो बसमा यात्रा गर्ने योजना बमोजिम म बस चढ्न एकान्तकुना पुग्दा साँझको ८ बजेको थियो । रिंगरोडमा केहि माईक्रोबस, मिनीबसहरु चल्दै थिए र ती साधनमा यात्रु भरिभराउ नै थिए । लामो दुरीका रात्री बसमा पनि झिलीमिली बत्ति बाल्दै कलंकीतिर हुईकिरहेका थिए । फोटोमा बाहेक भर्खर सञ्चालनमा आएको रात्री बस नदेखेकोले बस नचिनिने हो कि भन्ने अलि अलि चिन्ता पनि लागिरहेको थियो । फेरि भनेको बेला जिपिआरएस नचल्ने भएकोले कोटेश्वर, सातदोवाटोबाट साथीहरु चढे चढेनन भन्ने पनि थाहा भएन । आँखा एकतमासले सातदोवाटोतिरबाट आउने बसहरुमै गढेका थिए । लगभग ८ बजेर २२ मिनेट जति गएको हुनुपर्छ,  रंगीचंगी, झिलीमिली भएको एउटा बस आयो । नजिकै आएपछि थाहा भईहाल्यो महानगरपालिकाले चलाएको रात्री बस यहि हो भनेर । ३,४ जना यात्रु ओर्ले । जसमध्ये १ जनाले चाहि राम्रै मापसे गरेका रहेछन् । खुट्टा लरवउदै थिए, सडक छेउको खाल्डोमा जमेको पानीमा ढलिहाले । 

बसका अधिकांश सिटहरु भरिएका थिए । ढोको नजिकै दाहिनेतिरको सिटमा दुईजना प्रहरी थिए । गाडी गुडुन्जेल ती प्रहरी साथै रहन्छन् । ड्राईभरका सिट माथि सिसिटिभी जडान गरिएको छ, र त्यो पक्कै पनि गाडी भित्रको गतिविधि रेकर्ड गर्नाका लागि हुनुपर्छ । तर त्यसको कनेक्सन अन्यत्र थिएन अर्थात क्यामेरामै रकेर्ड हुने व्यवस्था थियो र पछिल्ला सिटसम्म सायद क्याप्चर पनि गर्दैन होला । 

पछाडिको सिटमा चक्रपथ घुम्ने सल्लाह बमोजिम नै घुम्ने निस्केको हाम्रै समूह थियो । जसमा बज्रेश खनाल, बुद्धिसागर, गिरिश गिरी, कमलकुमार, रुपेश श्रेष्ठ, मणि दहाल लगयात थिए । बुद्धिसागरसँगै यात्रा गर्दा उनले पछिल्लो समयमा नागरिक दैनिकमा लेखेका टेम्पो, बाईक र ट्याक्सीका कथा दिमागमा घुमिरह्यो । अब यिनले अर्को हप्ता या कुनै दिन यहि नाईटबसको कथा लेख्लान, अथवा यहि यात्राको कथा लेख्ने होलान भन्ने लागिरह्यो । धोविघाट नजिक पुगेपछि साथी मुकुन्द नेपाल चढे । अरु यात्रीहरु चढ्ने ओर्लने क्रम चलि नै रहेको थियो । बसको रोक्ने र चढाउने अथवा यात्रीका लागि चढ्ने र ओर्लने फिक्स स्पट थिएन, आवश्यकता अनुसार जहाँ पनि बस रोकिन्थ्यो । ८ बजेर ४० मिनेट जाँदा बसले कलंकी पुर्यायो । अर्थात कोटेश्वरबाट छुटेको बस ४० मिनेटमा कलंकी पुग्यो । कलंकीमा माईसंसारका साथी सालोक्य चढे । बसमा भिड बढ्यो, सिटले नपुगेर मान्छे उभिन थालेका थिए । "म त काठमाण्डौंदेखि सुर्खेतसम्म लगभग १६ घण्टा उभिएर यात्रा गरेको छु" बुद्धिसागरले आफ्नो रात्री बस अनुभव अभिनय गरेरै सुनाए । त्यसपछि शुरु भए उनका र ब्रजेश खनालका जोक र जोकको केन्द्र विन्दुमा रहे राजेश हमाल । पछिल्ला समयमा राजेश हमालका बारेमा पत्र पत्रिकामा छापिएका जोक गर्दै यात्रा अगाडि बढ्यो । केहि नयाँ पनि बने । जोकका तारो राजेश हमालमा मात्र सिमित भएन, दुव्लो पातलो, मोटो ज्यान भएका पत्रकार, कलाकार अझ सँगै यात्रामा रहेका हामीलाई समेत बाँकी राखेनन ब्रजेस र बुद्धिसागरले । बुद्धिसागर जसरी लेख्छन, त्यसैगरी कुरा गर्दा रैछन, त्यहि भएर पनि कलंकीदेखि नयाँ बस पार्कसम्म पुगेको पत्तै भएन । "मैले ४, ५ वटा ठाँउको रेकी गरिसके है, डाईनिग आउटका" लागि सडक दायाँ बायाँका बन्द हुने तरखरमा रहेका रेण्टुरेण्टतिर हेर्दै बीचबीचमा गिरिश सुनाउथे ।
Photo : Salokya
बस स्वंयम्भूतिर पुगेको हुनुपर्छ, ब्रजेश र बुद्धिसागरले बीच बाटोमा कतै झरेर चिया पिउने र अर्को बस समातेर यात्रा गर्ने कुरा निकाले । ९ बज्न केहि मिनेट बाँकी नै रहेकोले बाटोमा झरेर चिया पिउने र अर्को बस समातेर यात्रालाई निरन्तरत दिनेमा सबै एकमत भए र महाराजगंजमा झर्ने निधो भयो । तर दिपक भट्टराई, खगेन्द्र लामीछाने लगायत केहि साथीहरु बसुन्धराबाट चढ्ने भएकोले, बरु बसुन्धरामा झर्ने र त्यहाँबाट सबै जना हिडेर महाराजगंज (नारायण गोपाल चोक) हिडेर जाने सल्लाह भयो । साथी मुकुन्दले रु. २५ का दरले सबैको भाडा उठाएर कन्डक्टर, खलासीलाई बुझाए र हामी ९ बजेको आसपासमा बसुन्धरा चौकी नजिकै उत्रियौं । पहिला देखिको ११ जनाका समूहमा ४ जना थपिएपछि अब हाम्रो समूह १५ जनाको भयो र हामी पैदल नारायणगोपाल चोकतिर लाग्यौं ।

लोडसेढिंगले गर्दा सडकको दायाबायाँ अध्यारो थियो भने सडकमा गुड्ने सिमित साधनहरुको गति अस्वास्भाविक रुपमा बढी थियो । सडकबाट हिडौं, ज्यान जाला भन्ने पिर, सडक छोडौं, हिलो र खाल्डाखुल्डी ।  बसुन्धरादेखि महाराजगंजसम्म पुग्दा बाटामा चिया खाने ठाँउ पनि पाईएन । बाटोमा जहाँ बस भेटिन्छ त्यहिबाट चढ्ने भनेपनि नारायणगोपाल चोक पुग्दासम्म हामीले चढ्न खोजेको रात्री बस आएन । केहि खाली बस चावहिल, गौशाला भन्दै कराउदै थिए, सायदै ग्यारेज वा बासस्थान तिर जान लागेका हुनुपर्छ ती बसहरु । नारायणगोपाल चोकमा पुगेर केहि समय कुर्दा पनि बस आएन । घडिको सुई १० बजेको आसपासमा पुग्न लाग्यो । बस नआउला कि भनेर म लगायात साथीहरुको हुटहुटि, चिन्ता बढ्न थाल्यो । कसैले बसको अफिसमा फोन गर्न थाले, कसैले नजिकैका सुरक्षाकर्मीलाई सोध्न थाले । फेरि बसुन्धराबाट चढेर चक्रपथ घुम्ने योजना बनाउनु भएका साथीहरु बसमा चढ्न नै पाउनु भएको थिएन । उहाँलाई बसले फेरि सोहि ठाँउमा ल्याईपुर्याउला कि नाई भन्ने कुराले पिरोलेको थियो । तर न त रात्री बसको फोन उठ्यो न त सुरक्षाकर्मीलाई थाहा थियो बस गुड्ने तालिका । ट्याक्सी छेउमा आएर जाने हो भन्दै सोध्थे । साथीहरुले पनि हामी त नाईटबस चढ्ने हो, ट्याक्सीका दिन गए भन्दा उल्टै ट्याक्सी ड्राईभरलाई जिस्क्याउथे । यहि बेला एउटा रात्री बस रत्नपार्कबाट नारायणगोपाल चोक हुदै गंगालाल तिर लाग्यो । केहि विकल्प नभए त्यहि बसमा चढेर रत्नपार्क जाने, त्यहाँबाट अर्को बस समातेर आ आफ्नो गन्तव्यतिर लाग्ने सम्मको कुरा पनि भयो । सायद बुद्धिसागर नभएका भए यो कुराई पट्यार लाग्दो हुन्थ्यो होला, उनले गफ गर्न र हसाउन छोडेनन् । 

लगभग १० बजे बल्ल झिलीमिली भएको बस आउदै बालाजुतिरबाट आउदै गरेको देखियो । केहिबेरअघिसम्म नुन खाएको कुखुरो झै झोक्राउन लागेका साथीहरुको मुहारमा एकाएक मुस्कान आयो । त्यो बस चावहिल, गौशाला, कोटेश्वर, कलंकी हुदै माछापोखरी बालाजुसम्म आउने भन्ने खलासीले भनेपछि दिपक भट्टराई लगायतका साथीहरु पनि चढन राजी हुनुभयो र १५ जनाको समूह गाडीमा चढ्यो । त्यतिबिधि भिड थिएन । केहि साथीहरु ड्राईभरको छेउमा, केहि बीचतिर र केहि लास्टसिटमा बसियो । यसपछि भने जोक, गफको क्रम अलि सुस्तायो । कुरा गर्दै जादा बसमा हामी जस्तै चक्रपथ घुम्न हिडेका अन्य केहि भेटिए । कस्तो हुदो रैछ अनुभव लिन हिडेका भन्दै थिए । 

गौशाला वा सिनामंगलतिरबाट हुनुपर्छ, तीनजना महिलासहित एक जना पुरुष चढे, सायद एकै परिवार वा नजिककै आफन्त हुनुपर्छ । हामीले बसुन्धरामा छोडेको बसमा पनि महिला नगण्य थिए । अवेर रातीका यात्रा, हाम्रो समाजमा महिलालाई हेरिने दृष्टिकोण लगायत सुरक्षाको कारण पनि होला नगण्य महिलाले यात्रा गर्नुमा । 

रात छिप्पिदै गर्दा गाडीको गति पनि बढ्दै गयो, नारायणगोपाल चोकबाट हिडेको १५ मिनेटमै गौशाला । मान्छेहरुको ओर्लने र चढ्ने क्रम जारी नै रह्यो, बसका सिट खासै खाली भएनन् कोटेश्वरसम्म आईपुग्दा पनि । हाम्रा साथीहरुपनि ओर्लन क्रम शुरु भयो । म एकान्तकुनामा झर्दा १० बजेर ३५ मिनेट जति गईसकेको थियो । मुकुन्द, सालोक्य, दिपक भट्टराईलगायत अन्य केहि साथी र केहि यात्री मात्र बाँकी थिए गाडीमा । ११ बजेपछि रात्री बस बन्द हुनेभएकोले उहाँहरु (बसुन्धरा पुग्ने साथीहरु) आधाबाटोमा झर्नु भएछ र लगभग ४ किमि आधारातमा पैदल हिड्दै घर पुग्नु भएछ । 

२७.३८ किमीको चक्रपथमा एक चक्कर लगाउदा बाटोमा रमाईला दृश्य देखिन्छन् । धेरैजसोमा ठाँउमा मापसे चेकिंग र पुलिससँगको बादविवाद मज्जाले नै देख्न पाईन्छ । सडकको दाया बाँयाका खुद्रा, किराना पसल बन्द भएपनि लज, रेण्टुरेण्ट, सेकुवा कर्नर, क्याफे, भट्टीमा चहकिलो उज्यालोसहितको  चलहपहल देख्न सकिन्छ । गाडी भित्रका दृश्य पनि कम्ता रमाईला हुन्नन । गाडी चढ्न वित्तिकै ह्वास्स आउने चुरोट र मापसेको गन्ध, झ्याप भएर सिटमा निदाएर आफ्नो गत्तब्य नै बिर्सने यात्री, फोनमा एकतमासमाले ठूल्ठूलो स्वरमा गफ गर्ने लगायत धेरै किसिमका मान्छेसँग साक्षात्कार गर्न पाईन्छ ।

रात्री बस सञ्चालनलाई सुधार र व्यवस्थित गर्न धेरै ठाँउहरु बाँकी छन् । निश्चित तालिका तोकिदिने, यात्री कम भए पनि गुडाईदिने, सरकारले सहयोग बन्द भएपछि सेवा नै बन्द हुन नदिनलाई आजदेखि महानगरले काम गरिदिने हो भने यसले निराश हुदै गएको काठमाण्डीबासीको मुहारमा केहि भएपनि खुशी ल्याउनेछ ।  

र अन्त्यमा,
बज्रेशले भनेजस्तै हामी सानो सानो कुरामा पनि रमाउनु र खुशी हुन जान्दछौं । यहि रात्रीबस पनि त्यसको उदाहरण हो । हाम्रा लागि मेट्रो रेल, नाईट लाईफ, मार्केट त धेरै परका कुरा छन् । आशा गरौं, यस्तै सानो सानो खुशीहरु जोडेर खुशीको सागर बनोस ।

सँगै यात्रा गरेका साथी सालोक्लको अनुभव यहाँ छ ।
रात्री बस सञ्चालन सम्वन्धि थप समाचार

4 comments:

  1. मौका मिलेछ भने यो यात्रा मलाई पनि गर्ने रहर छ । मापसे चेकिङले घटाएका ब्यापार पनि बढ्लान भन्ने आस गर्न सकिन्छ । जे होस राम्रो शुरुवात हो ।

    ReplyDelete
  2. पढ्दा रमाइलो लाग्यो । आँफै सहभागी भए झै ।

    ReplyDelete
  3. चक्रपथ यात्रा भन्दा पनि मलाइ यो १४-१५ जनाको समुह संग यात्रा गर्न मन लाग्यो। गज्जब रमाइलो हुन्छ जस्तो छ

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates