Monday, July 09, 2012

बन्जी अनुभव (भिडियो सहित)

जुलाई ७, २०१२, शनिबार
बिहान ५ बजेर ४० मिनेट
बोर्डरल्याण्ड रिर्सोट, सिन्धुपलाञ्चोक

आज अलि चाडै निद्राले छोड्यो, हिजो सायद चाडै सुतेकाले होला । राती पनि ३,४ पटक निद्रा खुलेको थियो । बेसकन टाउको पनि दुखि रहेको  छ । टाउको दुख्नका एक कारण आजलाई बुक गरेको बन्जी जम्पिंग पनि होला भन्ने लागिरहेको छ । (अफिसको कामले बोर्डरल्याण्ड आएको आज तेश्रो दिन हो र आजै दिउसो काठमाण्डौं फर्कने कार्यक्रम छ ।)
बोर्डरल्याण्डबाट द लास्ट रिर्सोट, जहाँ १६० मिटर अग्लो झोलुंगे पुलबाट भोटेकोशीमा बन्जी गर्न पाईन्छ, साढे दुई किमीको दुरीमा छ । हिजो दिउसो त्यता घुम्न जाँदा मैले पनि आज बिहानका लागि बन्जी गर्ने भनेर पैसा तिरेर आएको छु । अब गएन भने बन्जीका लागि तिरेको ३२ सय जान्छ, फिर्ता हुदैन । तर नजानु पर्ने कारण केहि छैन । मलाई त्यस्तो खास डरसर केहि छैन । कस्तो होला भन्ने कौतुहलता चाहि अलि बढी छ । चस्मा लाउन पाइएला नपाईएला भन्ने चिन्ता छ, माईनस ४ भएकोले चस्मा नहुँदा अलि गार्हो हुन्छ । बन्जी कति सेकेण्ड हुन्छ होला, अनि फ्रि फल, पुलबाट १६० मिटर तल खस्दा कस्तो होला भन्ने उत्सुकता र अलिअलि डर छ । 
बन्जी गरिसकेपछि (काठमाण्डौं आएर)
बन्जीका लागि बिहानको ८ बजेभित्र जसरी नि आईपुग्नु भनेकोले दिएको समयभित्रै पुगियो द लास्ट रिर्सोट । मसँग अफिसका सर र साथीहरु थप ६ जना हुनुहुन्थ्यो । हामी पुग्दा खासै सुरसार थिएन पुलमा । ढिला हुन्छ भन्ने लाग्यो । बेचैन भएर कुर्नुको विकल्प थिएन । बल्ल ९ बजेतिर नाम बोलाउदै ओरिएन्टेसनका लागि बोलाईयो । सबैभन्दा पहिले बन्जीका लागि तयार व्यक्तिहरुको तौल नापियो । त्यसभन्दा बाहेकका अन्य कुनै प्रकारका परिक्षण भएन । धेरैले प्रेसर जाँच गर्छ भन्थे, तर त्यस्तो पाईएन । ओरिएन्टेसनमा बन्जी मास्टरले कसरी हामफाल्ने, पकेट खाली राख्नुपर्ने, टाईट जुत्ता लाउने लगायतका विभिन्न कुराहरु सिकाए । सबेभन्दा खुशीको कुरा त पावरवाला चस्मा लाउन मिल्ने बताए, बाध्न मिल्दोरैछ । मेरो ठूलो चिन्ता सकियो । साथै तल खोलामा उत्रने बेलामा कसरी बाँसमा समाउने, अनि हिडेर माथि आउदा ध्यान दिनुपर्ने कुराहरु पनि विफ्रिंगमा सिकाए । 
बन्जी गर्दाको भिडियो

हाम्रो लटमा ७ जना थियौ । त्यसमा नेपाली ३ जनामात्र । बाँकी सबै भारतीय । हामी सातै जनालाई बन्जी मास्टर र उनका सहायकले लिएर पुलतिर लागे । तौलका आधारमा बन्जी गर्ने रोलक्रम आउदो रहेछ । पहिलो नम्बरमा ८७ केजी वाला भारतीम महिला परिन । पहिला नम्बरमा गर्दिन भन्दै रातो पिरो भएपनि उनको केहि लागेन । नजिकैबाट उनी हाम फालेको देखेपछि मुटुको धड्कन अलि अलि बढ्न थाल्यो । उनी पछि अरु दुई जनाले बन्जी गरे । मेरा पालो चौथो नम्बरमा आयो । पहिला जिउमा हार्नेस बाँधे । त्यसपछि एउटा कुर्सिमा बसाएर दुबै खुट्टालाई जोडेर बन्जीको डोरी अड्काउने मिल्ने हार्नेस बाँधे । त्यो हेर्दा त चुडिएला जस्तो लाग्ने । अनि विस्तारै बन्जि गर्ने प्वाईन्टमा लगे । अब हाम फाल्नुको विकल्प थिएन । गो भने वित्तिकै हाम फालियो । तल पुगेर खुट्टा बाँधिएको छ भन्ने अनुभूति नभएसम्म हावाले हानेको मात्र याद भयो । तर त्यसपछि भने तल देखिने खोला आकाशतिर र दायाँ बायाँका जंगल, चट्टान फनफनी घुम्न थाले, म पनि मज्जाले घुमेको रैछु (भिडियो हेरेपछि थाहा भयो) । मैले पनि सक्दो चिच्याए र रमाईलो माने । यो सब गर्दा २० देखि २२ सेकेण्ड जति वितेको थियो होला । अनि विस्तारै डोरी लम्बिदै गयो, म तलतल झर्न थाले । तल खोलामा बसेको साथीहरुले बाँसको सहाराले किनारा लाए । दुई जना सर र दुई जना साथी पनि खोलामै रहनुभएकोले केहिबेर गफ गरेपछि उकालो लागियो र आधाघण्टामा उहि हाफ फालेको पुलमा आईपुगियो विल्कुलै नयाँ, रमाईलो, डरलाग्दो अनुभव बोकेर । 

बन्जी गर्दा बन्जी गराउनेहरुले नै भिडियो खिच्दा रैछन र पछि आफुलाई चाहिएमा रु. १५००।०० तिरेर अर्डर गरेपछि दुईदिन पछि पाईने रैछ । मैले पनि त्यसैगरे । त्यही १५०० भित्र एउटा टिसर्ट पनि पाईदो रैछ ।  त्यसपछि बन्जीकै कुरा गर्दै काठमाण्डौं फर्कियौं ।






3 comments:

  1. बबाल छ बबाल । हेर्दै मन रोमाञ्चक बनाएर ल्यायो :)

    ReplyDelete

 

पीपलचौर [pipalchour] Copyright © 2011 | Powered by Blogger Templates